भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक हुने

भोलि शुक्रबार मौद्रिक नीति सार्वजनिक हुने : Icon Khabar

काठमाडौँ, साउन १० । चौतर्फी चासोका साथ हेरिएको चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यले अन्य कुरा यथावत् रहेमा शुक्रबार मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिए।

मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उनले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताए।

अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो । गत शुक्रबार आउने चर्चा भए पनि सो दिन आएन ।

अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।

सामान्य रूपमा व्याख्या गर्नुपर्दा मौद्रिक नीतिले मुद्राको मूल्य निर्धारण गर्छ । त्यसले गर्दा राष्ट्र बैङ्कले सार्वजनिक गर्ने मौद्रिक नीतिले प्रत्यक्ष रूपमा सर्वसाधारण उपभोक्ता, उत्पादक वा कर्मचारी सबैलाई प्रभाव पार्छ ।

पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ ।

राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आएका छन्।

Published Date: 25 July 2024


















ताजा
राष्ट्रपति पौडेलद्वारा भक्तपुरको नवदुर्गा मन्दिरमा पूजाअर्चना
४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्या सम्पन्न
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक