साउदी अरेबियामा यसवर्ष मृत्युदण्ड दिइएको कूल संख्या एक सय नाघ्यो

साउदी अरेबियामा यसवर्ष मृत्युदण्ड दिइएको कूल संख्या एक सय नाघ्यो : Icon Khabar

साउदी, साउन ४ । साउदी अरेबियाले लागुऔषध ओसारपसारमा दोषी ठहर भएका दुई जनालाई मृत्युदण्ड दिएको गृह मन्त्रालयले बताएको छ । साउदी नागरिकलाई एम्फेटामाइनको तस्करीको आरोपमा र अर्का पाकिस्तानीलाई हेरोइनको तस्करीका लागि मक्कामा मृत्युदण्ड दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले मन्त्रालयको घोषणालाई उद्धृत गर्दै बताएको छ ।

यो सँगै यसवर्ष मृत्युदण्ड दिइएको कूल संख्या एक सय ६ पुगेको छ । आधिकारिक आँकडाका आधारमा एएफपीका अनुसार यस वर्ष दिइएका एक सय ६ मृत्युदण्डमध्ये सातवटा लागुऔषधसँग सम्बन्धित अपराधका लागि छन् । साउदी अधिकारीहरुले करिब तीन वर्षको अन्तरालपछि सन् २०२२ को अन्त्यमा लागुऔषधसम्बन्धी अपराधका लागि मृत्युदण्डको सजाय पुनः सुरु गरेका छन् ।

सन् २०२३ मा अधिकारीहरु कम्तीमा एक सय ७० जनालाई मृत्युदण्ड दिएका थिए । यसमा आतंकवादसम्बन्धी अपराधका ३३ अभियुक्त थिए । गत वर्ष यसै समयमा कम्तीमा ७४ जनालाई मृत्युदण्ड दिइएको थियो ।

सोमबार बर्लिनस्थित युरोपेली–साउदी मानवाधिकार संगठनले ‘करिब हरेक दुई दिनमा एक मृत्युदण्ड’ दिएकामा साउदी अरेबियाको निन्दा गरेको थियो । “एक सय ९६ दिनमा एक सय मृत्युदण्डको सजायले अन्तर्राष्ट्रिय कानून र यसको आधिकारिक प्रतिबद्धताहरुको उल्लंघन गर्दै मृत्युदण्डको व्यापक प्रयोगमा साउदी सरकारको जिद्दीलाई देखाउँछ”, संगठनले विज्ञप्तिमा भनेको छ ।

यस वर्ष मृत्युदण्ड दिइएकामा ७८ साउदी, आठ यमनी, पाँच इथियोपियाली, सात पाकिस्तानी, तीन सिरियाली तथा श्रीलंका, नाइजेरिया, जोर्डन, भारत र सुडानका एक÷एक जना रहेका छन् । मृत्युदण्ड पाउनेमा दुई महिला थिए ।

साउदी अरेबियाले सन् २०२३ मा चीन र इरानबाहेक अन्य कुनै पनि देशको तुलनामा धेरै मानिसलाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टरनेसनलले उक्त वर्षका लागि मृत्युदण्डको वार्षिक प्रतिवेदनमा बताएको थियो । टाउको काट्नका लागि कुख्यात यो मुलुकले सन् २०२२ मार्चमा एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएपछि विश्वभरबाट निन्दाको लहर सुरु भएको थियो ।

अधिकारीहरु मृत्युदण्ड कुरानको शिक्षामा आधारित इस्लामिक कानूनी संहिता शरिया कानूनअनुकूल रहेको र ‘सार्वजनिक व्यवस्था कायम राख्न’ आवश्यक रहेको बताउँछन् । वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले पर्यटक र लगानीकर्ताहरुलाई आकर्षित गर्न विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकको छविलाई परिवर्तन गर्न प्रयास गरिरहेका छन् ।

तर पनि कार्यकर्ताहरु राज्यको निरन्तर मृत्युदण्डको व्यवस्थाले प्रिन्स मोहम्मदको भिजन २०३० सुधार एजेन्डाको केन्द्रमा रहेको अधिक खुला र सहिष्णु समाजको छविलाई कमजोर बनाउने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2024
Website | + posts
ताजा
काठमाडौंको गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गर्यो, सचेत रहन आग्रह
साइकल कनेक्ट भक्तपुर र जुजु बाइक्सबीच विशेष सहकार्य सम्झौता सम्पन्न
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आज डेंगु रोग नियन्त्रणको लागि मेगा अभियान सञ्चालन गरिँदै


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू