नेपालमा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, बढी संक्रमित काठमाडौँमा

नेपालमा एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, बढी संक्रमित काठमाडौँमा : Icon Khabar

काठमाडौं, असार २० । देशका ७३ वटा जिल्लाबाट एक हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको जानकारी दिए।

इडिसिडीको तथ्याङ्क अनुसार कर्णली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ४८२, कोशी प्रदेशमा ३५० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिए।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा १५९, झापामा १२० जनामा डेंगु पुष्टि भएको छ ।

त्यसैगरी, चितवनमा ८३, मकवानपुरमा ६५, डोटीमा ४९, तनहुँ ४९, सिन्धुपाल्चोकमा ४६, ओखलढुङ्गामा ४६, भोजपुरमा ४३, पाल्पामा ३५ जनामा डेंगु पुष्टि भएको छ । चिकित्सका अनुसार डेंगु हुनबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरु आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमखु लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न प”रै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा.दाहालको सुझाव छ ।

उहाँ भन्नुहुन्छ, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यलय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाडाँहरु बेलाबेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्ने ।’’ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो वर्ष डेंगु सङ्क्रमण बढ्न सकने भन्दै सचेत रहन आग्रह गरेका छन् । गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2024
Website | + posts