अविरल वर्षाले पहिरो जाँदा ओखलढुङ्गामा एक र कास्कीमा दुईजनाको मृत्यु

अविरल वर्षाले पहिरो जाँदा ओखलढुङ्गामा एक र कास्कीमा दुईजनाको मृत्यु : Icon Khabar

काठमाडौँ, असार १२ । गए राती देखी परेको अविरल वर्षा सँगै आएको पहिरोले घर र गोठ पुरिदा एक जनाको ज्यान गएको छ । दुई गम्भीर घाइते भएका छन्।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–५ थुम्कीका ३९ वर्षीय बाबुराम खत्रीको ढुङ्गा माटोले बनेको कच्ची घर पुरिदा उहाँकी श्रीमती ३५ वर्षीय देव कुमारी खत्रीको घटना स्थलमै ज्यान गएको हो ।

पहिरोमा परि खत्री आफै र १८ वर्षीय छोरी मेनुका खत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले बताए । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । पहिरोमा पुरिएका तीन वटा भैँसी र १४ वटा बाख्राको जीवितै उद्धार गरिएको छ ।

त्यसैगरी मङ्गलबार रातिबाट परेको वर्षाका कारण घर भत्किँदा कास्कीमा दुई जनाको ज्यान गएको छ । कास्कीको मादी गाउँपालिका वडा नम्बर ५ चितेपानीमा घरले घर भत्किँदा १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको हो ।

नजिकैको माटोको ढिस्को भत्किँदा प्रकाश रानाभाटको घर भत्किएको हो । बिहान सवा २ बजेतिर घरले पुरिएर आयुस्माको मृत्यु भएको हो । सँगै सुत्नुभएकी आयुस्माकी हजुरआमा ७० वर्षीया लालमाया बन्जारी पनि सकुशल छन् । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले लालमायालाई उद्धार गरेको थियो ।

वर्षाका कारण पोखरा महानगरको वडा नम्बर २७ आरु पाटामा एक बालकको ज्यान गएको छ । बिहान ३ बजेतिर हरि सुनारको घर भत्किँदा उहाँका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको हो । अनमोलकी आमा २७ वर्षीया रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको छ ।

कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले रितुको अवस्था गम्भीर रहेको जानकारी दिए।

मनसुनी वर्षा सक्रिय भएपछि मङ्गलबार रातिबाट लगातार भारी वर्षा भइरहेको छ । वर्षाका कारण नदीका सतहहरू बढेका छन् । पोखरा १४ को चाउँथेमा पृथ्वीराज मार्गको सडक भासिएको छ । प्रहरीले अहिले एकतर्फी रूपमा सडक सुचारु गराएको छ । वर्षाका कारका पोखरा ७ र पोखरा ३३ का केही घर डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधवार बिहान जारी गरेको नियमित बुलेटिनमा केही स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 June 2024
Website | + posts