खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा

खेलकुद महासंघले माग्यो क्यान अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा : Icon Khabar

काठमाडौं, जेठ २७ । नेपाल खेलकुद महासंघले नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेको छ । आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अध्यक्ष चन्दको राजीनामा माग गरेको हो । क्यान अध्यक्ष चन्द अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई विश्वकपका लागि प्रदान गर्ने १५ खेलाडी र १० सपोर्टिङ स्टाफमध्ये प्रशिक्षण समयदेखि अनिवार्य रुपमा हुनुपर्ने टिम डाक्टरलाई टिममा नराखी उक्त स्थानमा आफू र श्रीमतीसहित अमेरिका पुगेको भन्दै नैतिकताका आधारमा राजीनामा गर्न र राजीनामा नगरे कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

अमेरिकामा अध्यक्ष चन्दले चन्दा उठाउने हेतुले राति–राति होटेलमा खेलाडीहरूलाई उभ्याएको र फोटो खिचाउने काममा लागाएको आरोप लगाउँदै यसबारे सत्यतथ्य छानबिन गर्न पनि महासंघले माग गरेको छ । पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय सचिव विप्लव घोषले विश्वकप अगाडि क्यान अध्यक्ष चन्दको मिलेमतोमा क्यानका सचिव पारस खड्का अमेरिका पुगेर नेपाली खेलाडीले हस्ताक्षर गरेको ब्याट र टिसर्ट अक्सनमा राखेर बेचेको, अमेरिकामा बसोबास गर्ने नेपालीहरूले चन्दा उठाएर उपलब्ध गराएको रकम हालसम्म क्यानको बैंक खातामा दाखिला नभएको क्यानका स्वयं पदाधिकारी एवं केन्द्रीय सदस्यहरूले कुरा उठाएको बताए ।

यसबारे अविलम्ब छानबिन गरी दोषीमाथि कारबाही गर्न घोषले माग गरे । उनले सन्दीप लामिछाने नेपालका उत्कृष्ट खेलाडी भए पनि नेपालको १५ सदस्यीय टोलीमा समेटिन नसकेको बारेमा पनि अविलम्ब छानबिन गर्न माग गरे । अमेरिकामा फेम नेपाल नामक संस्थाले क्यानका अध्यक्ष चन्द र उहाँको श्रीमतीलाई ट्याङ आउट स्पोर्ट्स बार, इर्भिङमा खुवाएबापत र खेलाडीलाई एकछिन बसाएबापत खेलाडीलाई भेट्न गएका व्यक्तिहरूसँग टिकटको मूल्य ३५ डलर गैरकानुनी रुपमा उठाएको, ८० डलरको गेमको टिकटलाई १३५ डलर लिएर नेपाली दर्शकलाई ठगेको आरोप पनि महासंघले लगाएको छ ।

विश्वकपको सन्दर्भमा विभिन्न व्यक्तिलाई अमेरिका पठाउने भन्दै भिसा प्रकियाका लागि प्रधानमन्त्री कार्यालयको लेटरप्याड प्रयोग गरेर ती व्यक्तिहरुबाट रकम उठाई मानव तस्करी गर्न लागेको र यस कार्य क्यानका पदाधिकारीको मिलेमतो विना असम्भव रहेको भन्दै छानबिनको मागसमेत गरिएको छ ।

Published Date: 09 June 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास