काठमाडौँ, जेठ १२ । काभ्रेको नमोबुद्ध स्तूपदेखि पूर्वतर्फको पहाडी धारमा अवस्थित छ, दाप्चा बजार। परम्परागत नेवार बस्ती रहेको यस ठाउँको मौलिकता स्थानीयले जीवन्त राख्दै आएका छन्। तर, बसाइँ सर्ने क्रम बढेसँगै यो ठाउँ सुनसान र उराठलाग्दो बनेको छ। यस बस्तीलाई पर्यटकीय थलोका रूपमा प्रवर्द्धन गर्ने सम्भावना छ, यस्तो पहल यहाँका इँटाका परम्परागत घरहरू अन्यत्र जस्तै कंक्रिटका संरचनाले विस्थापित हुनुअघि नै गरिनुपर्छ।
आफ्नो पुरानो स्वरूप बचाएर राखेको, राजधानी उपत्यका नजिकैको एक मात्र नेवार बस्ती यही एउटा बाँकी छ। खोकना, बुंगमती, साँखु, बनेपा लगायत नेवार बस्तीले जनसंख्याको तीव्र वृद्धि, आधुनिक विकास र २०७२ सालको भूकम्पका कारण परम्परागत एकीकृत स्वरूप गुमाए पनि दाप्चाको मौलिक स्वरूप यथावत् छ। भूकम्पले काभ्रेका अन्य गाउँहरू ध्वस्त भए तर विशेष भूगर्भका कारण छत्रेबाँझ दाप्चा, तल्लो हटिया, माथिल्लो हटिया र अन्य टोलहरू जोगिए।
बस्तीमा इँटा, काठ र माटोले निर्मित परम्परागत घर ४५ वटाभन्दा बढी छन्। समयसँगै यिनीहरू जीर्ण भएका छन्। दाप्चा बजारका घरहरू पुनर्निर्माण तथा जीर्णोद्धार गर्न, भित्री साजसज्जा र आधुनिक सरसुविधाको व्यवस्थाका लागि तत्कालै लगानीको खाँचो छ।
परम्परागत घरहरू मूल सडकको दायाँबायाँ लहरै उभिएका छन्। र, ६ हजार फिट उचाइमा रहेको बस्तीबाट खुम्बु हिमालको नुम्बुर चुचुरोदेखि अन्नपूर्ण हिमालसम्मका ३५० किलोमिटरको हिमशृंखला देखिन्छ। वरिपरिका मध्यपहाड र उपत्यकाहरू रमणीय छन्। त्यस्तै, दक्षिणको क्षितिज ढाक्ने गरी महाभारत पर्वत उभिएको छ। पश्चिमतर्फ पहाडको खोंचमा नमोबुद्ध स्तूप छ। जातक कथा अनुसार यो ठाउँ शाक्युमुनि बुद्धसँग सम्बन्धित छ। पूर्वपट्टिको तिमाल डाँडाको तामाङ समुदायको उत्पत्तिसँग साइनो छ।
दाप्चामा भीमसेनका तीन मन्दिर छन् र बजारको पूर्वी छेउको थुम्कोमा कालिकादेवी अवस्थित छिन्। बस्तीमा वर्षैभरिजसो जात्रा चल्छ, र जसमध्ये कृष्णजन्माष्टमीको पर्व मुख्य रहेको छ। वरिपरिका गाउँमा तामाङ, दलित, बाहुन र क्षत्रीको बसोबास छ।
दाप्चाको उच्च धार सालाखाला समथर भएकाले माउन्टेन बाइकिङका लागि उपयुक्त छ। उत्तरतिरका गाउँ फूलबारी र पात्लेखेत नेपालको अर्गानिक खेती अभियानका केन्द्र हुन्। वरिपरिका भिराला खेत शरद् याममा तोरीले पहेंलपुर हुन्छन् भने वर्षा याममा मकैले हराभरा।
ऐतिहासिक कालदेखि नै स्वनिग (नेपाल खाल्डो)बाट पूर्वतिर जाने मुख्य मार्गमा रहेको बजारको रूपमा दाप्चाको विशेष महत्त्व छ। उपत्यकादेखि पूर्वी नेपाल जाने एवं सिन्धुली हुँदै दक्षिणपूर्वको मिथिला क्षेत्र जाने तीर्थयात्री, व्यापारी, आक्रमणकारी र रक्षकहरूले प्रयोग गर्ने बाटोमै दाप्चा पर्थ्यो। स्थानीयका अनुसार एक दशक अघिसम्म पनि गाउँ नजिकैको गोरेटोमा ‘जंगे कोश निशान’ देखिन्थ्यो, जसले हनुमानढोकादेखिको दूरी जनाउँथ्यो।
दाप्चाले बन्दीपुरको पर्यटनबाट भएको पुनरुत्थानबाट सिक्न सक्छ। पश्चिमका डोटीदेखि पूर्वका चैनपुर जस्ता ऐतिहासिक नेवार बस्तीले पनि त्यस्तै पाठ सिक्न सक्छन् तर दाप्चाको सम्भावना टड्कारो छ।
काठमाडौं तीनकुनेबाट धुलिखेल हुँदै दुई घण्टाभित्रै दाप्चा पुग्न सकिन्छ। अहिले त तल भकुन्डेबेसीमा बीपी राजमार्ग छुने र अर्कातिर नमोबुद्ध स्तूप हुँदै पनौती र धुलिखेल जाने सडक पनि बनिसकेका छन्। बन्दीपुरको बस्ती दाप्चाभन्दा बाक्लो भए पनि यहाँका घर अझै अग्ला छन् र निपुण कालिगडीका नमूना छन्।
Published Date: 25 May 2024-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar-news