आज शहीद दिवस अवसरमा वीर सपूतहरुको सम्झनामा संक्षिप्त परिचय

आज शहीद दिवस अवसरमा वीर सपूतहरुको सम्झनामा संक्षिप्त परिचय : Icon Khabar

शुक्रराज शास्त्री 

पिता पण्डीत माधवराज जोशी र माता रुत्नमाया कुमारीको कोखबाट वि.सं. १९५० श्रावण पूर्णिमा दिन काठमाण्डौंमा शहिद शुक्रराज जोशीको जन्म भएको थियो । नेवार परिवारमा जन्मेका भए पनि उहाँका पिताले जस्तै शुक्रराजले संस्कृत पढेर उच्च श्रेणीमा संस्कृतमा शास्त्री उत्तीर्ण गरेकाले उहाँलाई ’शास्त्री’ भनिएको हो । शास्त्रीले प्राथमिक शिक्षा, दरबार स्कुल, काठमाण्डौ , विदालंकार (स्नातक), गुरुकुल महाविद्यालय, सिकन्दराबाद, उत्तर प्रदेश , शास्त्री (डिग्री वेदान्त) तथा बि.ए. (स्नातक) पन्जाव विश्वद्यिालय, लाहोर ( तत्कालिन भारत हाल पाकिस्तान) , विद्याभूषण — अखिल भारत वर्षीय हिन्दु महासभा, दिल्ली बाट गरेका थिए ।

शास्त्रीले भारतको इलाहाबादस्थित दयानन्द आर्य समाजी विद्यालयका प्रधानाध्यापक भई काम गर्नुका साथै सामाजिक सुधारका क्षेत्रमा भारतका मदनमोहन मालवियसँग काम गरेका थियो । पञ्जाब विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक गरेपछि शास्त्री नेपाल आएका थिए । शास्त्रीले नेपाल भाषा, नेपाली, हिन्दी, संस्कृत र अंग्रेजी भाषाका ज्ञाता स्व. शास्त्रीका थुप्रै पुस्तक र कृतिहरु प्रकाशित गरेका छन् । ब्रह्मसूत्र शाङ्कर भाष्य, स्वर्गको दरबार, नेपाल भाषा व्याकरण, संस्कृत ,नेपाली वर्णमाला , नेपालभाषा रीडर नेपाली , हिन्दु धर्मोपदेशक,वैदिक सन्ध्या, वैदिक अग्निहोत्र , स्वर्गको दरवार , शहिदके कलम से आदि शास्त्रीका प्रकाशित कृति हुन ।

शास्त्री काठमाडौँ आएपछि क्रान्तिकारीहरूसँग उनको सम्पर्क भयो । वि.सं. १९९३ मा ’नागरिक अधिकार समिति’ संस्थापक अध्यक्ष भई राणा विरोधी अभियानमा लागे । सहिद शास्त्रीले भारतका महात्मा गान्धीसँग भेट गरी नेपालका बारेमा कुरा गरेका कारण काठमाडौँ फर्केपछि उनलाई राणा सरकारले नजरबन्द गर्यो । नजरबन्द तोडेर आफ्ना मातापिताका माहिला छोरा शुक्रराजले वि.सं. १९९५ मार्ग १३ गते काठमाडौँ इन्द्रचोकमा राणा शासकहरूको विरुद्धमा उनको सबैभन्दा पहिलो आमसभामा एकजुट हुन आह्वान गरे ।

त्यसपछि राजद्रोहको अभियोग लगाई उहाँलाई पक्राउ गरी तीनवर्षे कैद सुनाइयो । आठवटा मुद्दामा फसाई वि.सं. १९९७ साल माघ ६ गते दिउँसो १०–११ बजे सर्वस्वहरणसहित फाँसीको सजाय सुनाइयो र वि.सं. १९९७ साल माघ १० गते राती झुण्ड्याएर मारियो ।

धर्मभक्त माथेमा

धर्मभक्त माथेमाको जन्म पिता सुब्बा आदिभक्त माथेमा र माता चन्द्रकुमारी देवीको कोखबाट वि.सं. १९६६ असोज ९ गते काठमाडौंको ओमबहाल नवहिलमा भएको थियो । बुबा आदिभक्त राणाहरूका लागि भारतबाट सामान ल्याउनुहुन्थ्यो। त्यही कारणले धर्मभक्तले दार्जीलिङमा शिक्षा आर्जन गरे। उनले भारतको स्कटिस चर्च कलेजबाट आई.ए. उत्तीर्ण गर्नुभएको थियो । शरीर दुब्लो भएकाले व्यायाम गर्न थाल्यो । बङ्गालको शारीरिक व्यायामशालाबाट उनले बङ्गाल च्याम्पीयन भएर नाम कमाउन राख्न थाले ।
बङ्गाल अङ्ग्रेजकै पालाबाट राजनीतिक चेतना भएको ठाउँ थियो । त्यहीँबाट उनलाई राजनीतिको ज्ञान मिल्यो । उनको सम्पर्क बङ्गाली नेता चित्तरन्जन दाससँग भयो । केही समयपछि उहाँका बुबालाई राणा प्रधानमन्त्री जुद्ध शमशेरले निर्वासित गरिदिए । वि.सं. १९९० मा धर्मभक्त माथेमाको उत्तरादेवीसँग वैवाहिक सम्बन्ध कायम भयो ।

वि.सं. १९९० सालमा दशरथ चन्दसँग धर्मभक्तको भेट भयो । पछि चन्द पनि नेपाल प्रजापरिषद्को संस्थापक सदस्य भए । उनले घोडेजात्रामा टुँडीखेलमा शारीरिक तन्दुरुस्ती र व्यायामको प्रदर्शनी गर्दा राजा त्रिभुवन ज्यादै प्रभावित भएको थियो र स्व.राजा त्रिभुवनका व्यायाम शिक्षक भए । उनले १९९३ सालमा आफ्नै फुपूको घरमा नेपाल प्रजापरिषद्को स्थापना गरेको थियो । प्रजापरिषद् र राजा त्रिभुवनका बीचमा सहिद माथेमाबाटै सम्पर्क भयो । लैनचौरमा राजा र प्रजापरिषद्बीच भएको सम्पर्क राणाहरूले चाल पाए । धर्मभक्तलाई पक्राउ गरियो। वि.सं. १९९७ माघ १२ गते उहाँलाई सिफलमा फाँसी दिइयो ।

दशरथ चन्द

वि.सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा सहिद दशरथ चन्दको जन्म भएको थियो । सहिद दशरथ चन्द लाई सहिद माइला भनेर पनि बुझिन्छ ।उहाँको पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व स्व. चन्दले मानविकी तथा समाजशास्त्र विषयमा बनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसअघि उनले नेपालगञ्ज, अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढेका थिए । त्यहीबेला चन्द काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थालेका थिए ।

महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनले सक्रियरूपमा भाग लिएको थियो । वि.सं. १९९० साल बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भयो । वि.सं. १९९१ मा चन्द सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे । त्यसपछि थाइल्यान्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनायो । सहिद चन्द नेपाल प्रजापरिषद्को कार्यकर्ता पनि हुन । चन्द सेवासिंह भन्ने छद्मनामबाट राणाविरोधी लेख छाप्ने गर्दथ्यो । दशरथ चन्द र गङ्गालाल एउटै जेलको कोठामा परेको थियो ।

सहिद चन्द अविवाहित नै सहिद भए । दशरथका जेठा बुबा रवी चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने माइलाका दाई गोकर्ण चन्द थिए । भाई ललित चन्द पनि २०५१ सालमा बिते । चश्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जाने गर्दथ्यो । दिदी, बहिनी, भाउजूहरूसँग ख्याल–ठट्टा गर्दथ्यो ।उहाँलाई भोक लागेमा जुन घरकी भाउजूसँग पनि मागेर खान हिच्किचाउथ्ये । मोही सहिद चन्दलाई खुब मनपर्थ्यो । बनारसमा स्नातक सकेर आउनुभएका युवा दशरथको विवाह काठमाडौंको राणा खानदानकी जुलिया मैयासँग गर्न भनेर दुईपटक जन्ती गए तर केटीको परिवारमा ’जुठो सुत्केरो’ परेकाले विवाह हुन सकेन, जन्ती रित्तै फर्क्यो ।

तत्कालीन राणासरकारले वि.सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

गङ्गालाल श्रेष्ठ

स्व. भक्तलाल श्रेष्ठ र माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमा रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो । आफ्ना काकासँगै भारतको कोलकातामा बसी २–३ वर्ष पढेपछि सहिद श्रेष्ठ काठमाडौँ फर्किए । वि.सं. १९९४ मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस.एल.सी. उत्तीर्ण गरे र त्रि–चन्द्र कलेजमा आई.एस्सी.पढेका थिए । गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुन् । महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे । राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असन र इन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउमा परि छुटेका थिए । दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिई राणा शासन विरोधी गतिविधिमा सक्रिय भए । प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्यो ।

शहीदहरूमध्येमा गङ्गालाल सबैभन्दा कान्छा हुन्। उनी २२ वर्षका थिए। उनी जेल पर्दा उनकी पत्नी हसिनादेवी गर्भवती थिइन्।विसं १९९७ माघ १३ गते हसिनादेवीले छोरा जन्माइन्। यो खबर गङ्गालाललाई पनि पठाइयो । गङ्गालालले छोराको नाम ’शशि’ राख्नु भनेर सन्देश पठाएको कुरा राजेश गौतमले ’नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा परिषद्को भूमिका’मा उल्लेख गरेका छन् । छोरा जन्मिएको भोलिपल्ट मध्यरातपछि उनलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 January 2023
Website | + posts




ताजा
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान
सुन आयातको सीमा बढ्यो, २० किलोबाट बढेर अब दैनिक २५ किलो ल्याउन पाउने
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको उत्तरपुस्तिकाको परीक्षा पुनः गर्ने त्रिविको निर्णय
शुक्रबार सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले घट्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित