चार्ल्सको शतकमा नेपाललाई विशाल लक्ष्य

चार्ल्सको शतकमा नेपाललाई विशाल लक्ष्य : Icon Khabar

काठमाडौँ, वैशाख १९ । ओपनर जोनसन चार्ल्सको शतकीय इनिङको मद्दतमा वेस्ट इन्डिज ‘ए’ ले जारी टि २० सिरिजको तेस्रो खेलमा नेपाल सामू विशाल लक्ष्य पेश गरेको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रन बनायो ।

चार्ल्सले अविजित रहँदै ६१ बलमा १३ चौका र ७ छक्का प्रहार गर्दै ११९ रन बनाए । १७औ ओभरको पाचौँ बलमा एक रन लिँदै उनले शतक पुरा गरेका थिए । दोस्रो विकेटका लागि उनले आन्द्रे फ्लेचरसँग मिलेर १४५ रनको विशाल साझेदारी समेत गरेका थिए ।

ओपनर एलिक अथान्जेको विकेट सस्तैमा लिएको नेपालले दोस्रो विकेटका लागि भने धेरै समय कुर्नु पर्यो । चौथो ओभरको पहिलो बलमा नेपालले पहिलो सफलता पाएको थियो । एक रन लिने क्रममा जोनसन चार्ल्सले नन-स्ट्राइकर एन्डमा फर्काइदिएपछि अथान्जे १० बलमा १७ रन बनाएर रनआउट भए । तर त्यसपछि चार्ल्स र आन्द्रे फ्लेचर मिलेर विशाल साझेदारी गरेसँगै वेस्ट इन्डिज विशाल योगफल तर्फ अग्रसर भएको थियो ।

सो साझेदारी १६औ ओभरमा सागर ढकालले फ्लेचरको विकेट लिएर तोडेका थिए । फ्लेचर ३३ बलमा ४ चौका र ३ छक्का सहित ५३ रन बनाएर दीपेन्द्र सिंह ऐरीद्वारा लङ-अनमा क्याच आउट भएका थिए ।

चौथो नम्बरमा क्रिजमा पुगेका फाबिएन एलेन ९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाएर करण केसीको बलमा दीपेन्द्रद्वारा नै क्याच आउट भए । किमो पल ७ बलमा १३ रन बनाएर नटआउट रहे ।

नेपालका लागि करण केसी र सागर ढकालले एक–एक विकेट लिए । नेपालले ६ वटा बलरको प्रयोग गरेको थियो । गुलशन झाले ४ ओभरमा २४ रन दिनुबाहेक अन्य बलर महँगो सावित  हुन पुगे । करणले ४ ओभरमा ५४ रन खर्चिए भने कमल सिंह ऐरीले ४ ओभरनै बलिङ गर्दै ५३ रन दिए ।

यस्तै सागर ढकालले ४ ओभरमा ४१ रन दिए । विवेक यादव र कुशल मल्लले समान दुई-दुई ओभरमा क्रमस: २८ र २६ रन खर्चिए ।

नेपालले आज टोलीमा ४ परिवर्तन गरेको छ । कप्तान रोहित सँगै कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्द पनि बेन्चमा छन् । करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी टिममा आएका छन् ।

वेस्ट इन्डिजले पेस बलर ओसेन थोमस बाहिर राख्दै अलराउन्डर फाबियन एलनलाई पहिलो पटक टोलीमा राखेको छ ।

सिरिज हाल १-१ को बराबरीमा छ । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् ।

Published Date: 01 May 2024




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न