काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरू हुँदै

काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरू हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १६ ।  तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज आइतबारदेखि काठमाडौंमा प्रारम्भ हुँदैछ । लगानी सम्मेलन काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म चल्नेछ । नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो ।

सरकारले स्वदेशी लगानीमा बन्न नसक्ने ठूला आयोजना विदेशी लगानीकर्ता सामु राखेर लगानी भित्र्याउने लक्ष्यसहित यो सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनमा विश्वभरका लगानीकर्ताको उपस्थिति रहने छ भने नेपालले आयोजनाहरूबारे प्रस्तुति दिनेछ ।

सम्मेलनको‌ क्रममा लगानीकर्ताले लगानीको प्रतिवद्धता गर्छन् र सोहीअनुसार लगानी अघि बढाउँछन् । नेपालमा यसअघि २०७३ तथा २०७५ मा दुई पटक लगानी सम्मेलन आयोजना भइसकेको छ ।

यसपटकको लगानी सम्मेलनमा सहभागी हुन सरकारले विश्वभरका धनाढ्यहरूलाई निमन्त्रणा पठाएको थियो । तर, निमन्त्रणा पठाएकामध्ये थोरै मात्र धनाढ्यले प्रतिक्रिया जनाएका छन् । धेरै धनाढ्यहरूले कुनै प्रतिक्रिया नदिएको लगानी बोर्डले बताएको छ ।

तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदै छन् । सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अष्ट्रेलिया र मलेसियाका नौ/नौजना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिंगापुरबाट छ, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार-चार जनाको सहभागिता रहने जनाइएको छ । त्यसैगरी, स्विजरल्याण्ड, फिनल्याण्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन/तीनजना सम्मेलनका लागि नेपाल आएका छन् ।

फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई-दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्याण्ड, पोल्याण्ड, इण्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहनेछ ।

आयरल्याण्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

सम्मेलनका लागि १५० आयोजना सोकेसमा राखिँदै छन् भने सम्मेलन स्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आहृवान गर्न लागिएको छ ।

आशयपत्र आहृवान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल १५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 April 2024
Website | + posts