काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरू हुँदै

काठमाडौंमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरू हुँदै : Icon Khabar

काठमाडौं, वैशाख १६ ।  तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आज आइतबारदेखि काठमाडौंमा प्रारम्भ हुँदैछ । लगानी सम्मेलन काठमाडौंको सोल्टी होटलमा दुई दिनसम्म चल्नेछ । नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गरेको हो ।

सरकारले स्वदेशी लगानीमा बन्न नसक्ने ठूला आयोजना विदेशी लगानीकर्ता सामु राखेर लगानी भित्र्याउने लक्ष्यसहित यो सम्मेलन गर्दै आइरहेको छ । सम्मेलनमा विश्वभरका लगानीकर्ताको उपस्थिति रहने छ भने नेपालले आयोजनाहरूबारे प्रस्तुति दिनेछ ।

सम्मेलनको‌ क्रममा लगानीकर्ताले लगानीको प्रतिवद्धता गर्छन् र सोहीअनुसार लगानी अघि बढाउँछन् । नेपालमा यसअघि २०७३ तथा २०७५ मा दुई पटक लगानी सम्मेलन आयोजना भइसकेको छ ।

यसपटकको लगानी सम्मेलनमा सहभागी हुन सरकारले विश्वभरका धनाढ्यहरूलाई निमन्त्रणा पठाएको थियो । तर, निमन्त्रणा पठाएकामध्ये थोरै मात्र धनाढ्यले प्रतिक्रिया जनाएका छन् । धेरै धनाढ्यहरूले कुनै प्रतिक्रिया नदिएको लगानी बोर्डले बताएको छ ।

तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६०० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदै छन् । सम्मेलनमा नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।

चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अष्ट्रेलिया र मलेसियाका नौ/नौजना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिंगापुरबाट छ, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार-चार जनाको सहभागिता रहने जनाइएको छ । त्यसैगरी, स्विजरल्याण्ड, फिनल्याण्ड, रुस, अस्ट्रिया, श्रीलंका र कोलम्बियाका तीन/तीनजना सम्मेलनका लागि नेपाल आएका छन् ।

फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई-दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्याण्ड, पोल्याण्ड, इण्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहनेछ ।

आयरल्याण्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

सम्मेलनका लागि १५० आयोजना सोकेसमा राखिँदै छन् भने सम्मेलन स्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आहृवान गर्न लागिएको छ ।

आशयपत्र आहृवान गरिने, सोकेस गरिने, मार्केट साउण्डिङ गरिने र निजी क्षेत्रबाट गरी कुल १५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

Published Date: 28 April 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता