सभापति देउवा र अध्यक्ष नेपालबिच भेटवार्ता: नयाँ सरकार निर्माणबारे छलफल

सभापति देउवा र अध्यक्ष नेपालबिच भेटवार्ता: नयाँ सरकार निर्माणबारे छलफल : Icon Khabar

काठमाडौँ, वैशाख ६ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको अर्थपूर्ण भेटघाटले सत्ता समीकरणमा तरङ्ग ल्याएको छ । देउवा र नेपालबीच बुधबार साँझ काठमाडौं गोल्फुटारस्थित कांग्रेसका नेताको घरमा भेटघाट भएको हो ।

सुदूरपश्चिममा एमालेले दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अस्वीकार गरेपछि नेता नेपालले देउवासँग भेट गरेको बुझिएको छ । एमालेले अस्वीकार गरे पनि एकीकृत समाजवादीको बुधबार बसेको सचिवालयको बैठकले सोडारीलाई नै मुख्यमन्त्रीको रुपमा अगाडि सार्ने निर्णय गरेको छ ।

भेटमा वैकल्पिक गठबन्धन बनाउने बिषयमा खुलेर छलफल भएको बुझिएको छ । स्रोतका अनुसार वैकल्पिक गठबन्धन बनाएर पहिला प्रदेशका सरकारहरु बनाउने विषयमा छलफल भएको छ । कांग्रेस र एकीकृत समाजवादी मिलेको अवस्थामा बागमती, सुदूरपश्चिम र मधेश प्रदेशमा सरकार बनाउन सकिने विषयमा समेत छलफल भएको बताइएको छ । त्यस्तै एकीकृत समाजवादीले अहिलेको सत्ता समीकरण छोडेमा जसपालाई पनि बाहिर ल्याउन सकिने आकलन गरिएको छ । मधेस प्रदेशको सरकार संकटमा पर्ने वित्तिकै जसपाले केन्द्रको समीकरण छोड्ने विश्लेषण गरिएको छ ।

नेता नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक धोका दिएको भन्दै वैकल्पिक गठबन्धनमा जान आफू तयार भएको देउवालाई विश्वस्त पारेको स्रोतले बताएको छ । एकीकृत समाजवादीले मात्र समीकरण छोड्दैमा केन्द्रमा असर नपरे पनि जसपाले समेत छोडेमा भने प्रचण्ड सरकार अल्पमतमा पर्ने देखिन्छ ।

देउवाले पनि पहिला एकीकृत समाजवादीलाई तयार गरेर जसपासँग कुरा गर्ने रणनीतिमा रहेको बुझिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई अल्पमतमा पार्न एकीकृत समाजवादीसँगै जसपा समेत बाहिरिनु पर्दछ । प्रतिनिधिसभामा जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । पछिल्लो पटक फागुन ३० गते विश्वासको मत पाउदा प्रचण्डले १५७ मत पाएका थिए । त्यस आधारमा २२ मत कम हुदा उनी १३५ मतसहित अल्पमतमा पर्ने छन् ।
Published Date: 18 April 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास