नेपालको चीनतर्फका भन्सार नाकामा उच्च प्रगति

नेपालको चीनतर्फका भन्सार नाकामा उच्च प्रगति : Icon Khabar

काठमाडौँ, वैशाख ६ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालका भारततर्फभन्दा चीनतर्फका भन्सार कार्यालयबाट राजस्व संकलन राम्रो देखिएको छ। चीनतर्फका प्रमुख भन्सार कार्यालयहरु तातोपानी र रसुवागढी भन्सारले लक्ष्यअनुसार राम्रो राजस्व संकलन गरेका नेपाल खबर अनलाइनले लेखेको छ। रसुवागढी भन्सार कार्यालयले लक्ष्यको ९६ दशमलव १ प्रतिशत संकलन गरेको छ। त्यस्तै, तातोपानी भन्सारले लक्ष्य नघाएको छ। उसले लक्ष्यभन्दा १ सय ५३ दशमलव २ प्रतिशत राजस्व संकलन गरेको छ।

रसुवागढी नाकामा चैत मसान्तसम्म १३ अर्ब ९२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो। जसमा १३ अर्ब ३७ करोड रुपैयाँ संकलन भएको छ। यता, तातोपानी भन्सारले ५ अर्ब ५९ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य पाएकोमा सो अवधिमा ८ अर्ब ५६ करोड रुपैयाँ संकलन गरेको छ।

भारततर्फका कार्यालयले तुलनात्मक रुपमा कम राजस्व संकलन गरेका छन्। यसअनुसार भैरहवा भन्सार कार्यालयको राजस्व संकलन ५९ अर्ब ४४ करोड रुपैयाँ मात्र छ। यो लक्ष्यको ६१ दशमलव ९ प्रतिशत मात्रै हो।

त्यस्तै, विराटनगर भन्सार कार्यालयले चैतसम्म २२ अर्ब ५७ करोड रुपैयाँ संकलन गरेको छ। यो लक्ष्यको ५९ प्रतिशत हो। वीरगन्ज भन्सार कार्यालयबाट सधैँजसो धेरै राजस्व संकलन हुने भए पनि उक्त अवधिमा १ खर्ब १४ अर्ब १५ करोड रुपैयाँ संकलन गरेको छ। यो भनेको लक्ष्यको ६२ दशमलव ५ प्रतिशत मात्र हो।

त्यस्तै, वीरगन्ज सुख्खा बन्दरगाह भन्सारको चैत मसान्तसम्मको राजस्व संकलन ३६ अर्ब ५५ करोड छ। यो लक्ष्यको ७४ दशमलव ९ प्रतिशत हो। त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चैतसम्म १५ अर्ब ६७ करोड रुपैयाँ संकलन गरेको छ। जुन लक्ष्यको ६४ दशमलव ६ प्रतिशत हो। यीबाहेक अन्य भन्सार कार्यालयबाट पनि लक्ष्यअनुसार संकलन हुनसकेको छैन।

सरकारले भन्सार कार्यालयपिच्छे राजस्व संकलनको लक्ष्य निर्धारण गर्छ। यसअनुसार चीन र भारतसँग जोडिएका विभिन्न नाका र विमानस्थल भन्सार कार्यालयहरुले छुट्टाछुट्टै लक्ष्य पाउँछन्। चैत मसान्तसम्म सबै भन्सार कार्यालयहरुले कुल ३ खर्ब ७ अर्ब ९० करोड रुपैयाँ संकलन गरेका छन्। यो अवधिमा कुल भन्सार राजस्व लक्ष्य सरकारले ४ खर्ब ६४ अर्ब ४५ करोड रुपैयाँ राखेको थियो। हालसम्म संकलित राजस्व लक्ष्यको ६३ दशमलव ३ प्रतिशत मात्रै हो।

भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला चैत अन्तिमतिर राम्रो राजस्व संकलन भएको बताउछन्। अहिलेको अवस्थामा भन्सारबाट ३ खर्बभन्दा बढी राजस्व संकलन हुनुलाई उनी धेरै राम्रो भएको मान्छन्। ‘बढी राजस्व संकलन हुने वीरगन्जमा चैत महिनामा भएको अनुगमन र गोष्ठीको समेत राम्रो प्रभाव पर्दा राजस्व थप भएको छ’, उनेल भने।

अर्थमन्त्री वर्षमान पुनले गत महिना वीरगन्ज भन्सार कार्यालयको अनुगमन गरेका थिए । यसैतर्फ निरौलाको संकेत थियो। तथ्याङ्कमा हेर्दा चैत महिनामा मात्रै कुल राजस्व ३३ अर्ब ९३ करोड रुपैयाँ संकलन भएको छ। जसमा वीरगन्ज भन्सारबाट १४ अर्ब ४६ करोड र वीरगन्ज सुख्खा बन्दरगाह भन्सारबाट ४ अर्ब २९ करोड रुपैयाँ संकलन भएको छ।

यता, आन्तरिकतर्फको राजस्व संकलन भने ३ खर्ब ६७ अर्ब ९९ करोड रुपैयाँ छ। चैतसम्ममा सरकारले ४ खर्ब ६८ अर्ब ६५ करोड रुपैयाँको लक्ष्य राखेकोमा लक्ष्यको ७८ दशमलव ५२ प्रतिशत आन्तरिक राजस्व संकलन भएको छ। योसँगै सरकारले चैत मसान्तसम्ममा कुल ७ खर्ब ७४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 April 2024
Website | + posts