राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनः दुवै प्रस्ताव प्रस्तुत

राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनः दुवै प्रस्ताव प्रस्तुत : Icon Khabar

काठमाडौँ, चैत २८ । राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचनका लागि दर्ता भएका दुवै प्रस्तावका प्रस्तावक र समर्थकले आफ्ना उम्मेदवारका पक्षमा दाबी प्रस्तुत गरेका छन्।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको दर्ता भएका छन्। सांसद पुडासैनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्तावक कांग्रेसका सांसद दुर्गादेवी गुरुङले पुडासैनी लोकतान्त्रिक आन्दोलनमा निस्वार्थरुपमा लागेर काम गरेका बताए। सो प्रस्तावका समर्थक कांग्रेसका सांसद नारायणदत्त भट्टले समर्थन जनाए।

सांसद घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावका प्रस्ताव एमालेका सांसद भगवती न्यौपानेले कम्युनिष्ट आन्दोलनमा लागेर देश र जनताका लागि शालिन र सशक्तरुपमा भूमिका निर्वाह गर्दै आएको बताए। उक्त प्रस्तावका समर्थक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अक्षामीले साझा सहमतिका आधारमा घिमिरेलाई उम्मेदवार बनाइएको अवगत गराए।

एमालेका सांसद देवेन्द्र दाहालले सर्वसम्मत हुन नसके पनि स्वच्छ प्रतिस्पर्धाका आधारमा उपाध्यक्ष चयन गर्न आग्रह गरे। निवर्तमान उपाध्यक्ष एवं माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले उम्मेदवार घिमिरे उक्त पदका लागि योग्य भएको बताएभने कांग्रेसका कृष्णबहादुर रोकायाले राष्ट्रियसभालाई सहमतिका आधारमा आफ्नो पार्टीलाई दिने अपेक्षा गरेपनि उक्त अपेक्षा पूरा हुन नसकेको गुनासो गरे।

नेकपा(एकीकृत समाजवादी)का सांसद जयन्तीदेवी राईले घिमिरेसँग आफूले लामो समयदेखि सहकार्य गरेको उल्लेख गर्दै विद्यमान अवस्थामा उनी उक्त पदका लागि उपयुक्त पात्र भएको बताए।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले पनि घिमिरेलाई समर्थन गरे। दुवै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्न दस्तखतसहितको मतविभाजका माध्यमबाट निर्वाचन हुने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 April 2024
Website | + posts