मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक ९.३४ अंकले बढ्यो : Icon Khabar

काठमाडौं, फागुन १५ । मंगलबार नेप्से परिसूचक ९.३४ अंक बढेर २००१.६४ विन्दुमा पुगेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स १.११ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४७ अंक बढेको छ।

मंगलबार नेप्से बढेपनि भोल्यूम भने कमजोर नै रहेको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४० हजार ८६८ पटकको कारोबारमा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बराबरको ५२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको छ।

मंगलबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। पछिल्ला दिनहरुमा दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको बोटलर्स नेपाल (बलाजु) र सोमबार करिब ९ प्रतिशत घटेको बिपिडब्लु लघुवित्तको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य भने सर्वाधिक ५.०६ प्रतिशत घटेको छ।

मंगलबार कारोबार रकमका आधारमा  सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै,  शिवम् सिमेन्ट्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने हिमालयन रि इन्स्योरेन्सको करिब साढे ६ करोडको शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.५२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक घटेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2024
Website | + posts