गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार माथि

गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार माथि : Icon Khabar

गाजा, फागुन ६ । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको संख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली सेनाको आक्रमणबाट पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको मृत्यु भएको छ भने २०५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले दक्षिणी गाजा पट्टीको खान युनिस शहरको अल–अमल अस्पतालले इजरायली ट्याङ्कहरूबाट थुप्रै प्रत्यक्ष आक्रमणहरू भएको बताएको छ।

गाजा पट्टीको मध्य क्षेत्रमा आवासीय घरहरूलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा शनिबार कम्तीमा ४० जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

प्यालेस्टिनी चिकित्सा स्रोतका अनुसार इजरायली लडाकू विमानले मध्य गाजा पट्टीको नुसिरात, अल–जावैदा र देइर अल–बलाह क्षेत्रका घरहरूमा सशस्त्र छापा मार्दा सयौं मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएका छन् ।

उद्धारकर्ताहरूले ४० वटा शव उद्धार गर्न सक्षम भए भने अझै पनि दर्जनौं भग्नावशेषमुनि छन् । मृतक तथा घाइतेहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा राखिएको छ।

हमासले गाजापट्टीको छेउमा रहेका इजरायली सहरमा आक्रमण गरेपछि इजरायलले लगातार पाँचौं महिना गाजा पट्टीमा ठूलो मात्रामा सैन्य कारबाही चलाएको छ । सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा करिब एक हजार २०० इजरायलीको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी बन्धक बनाइएका थिए । बन्धकमध्ये करिब एक सयलाई युद्धविराम सम्झौताअन्तर्गत मुक्त गरिएको छ भने करिब ३० जनाको मृत्यु भएको र बाँकी अझै हमासको नियन्त्रणमा रहेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 February 2024
Website | + posts