रुविनाको शतकमा नेपालको कीर्तिमानी योगफल

रुविनाको शतकमा नेपालको कीर्तिमानी योगफल : Icon Khabar

काठमाडौँ, फागुन १ । रुविना क्षेत्री बेलबासेको सानदार शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससामु २ सय २८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोड्यो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् ।

रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् ।

रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् ।

नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो ।

नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् ।

ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् ।

पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल 6१-४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो ।

त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे ।

नेपाल २ खेलमा ४ अंक जोड्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 February 2024
Website | + posts