एक दशकपछि ‘कर्मा’ ब्याण्डले ल्याउने भयो नयाँ एल्बम

एक दशकपछि ‘कर्मा’ ब्याण्डले ल्याउने भयो नयाँ एल्बम : Icon Khabar

काठमाडौं, माघ २५ । ‘हुक्का मेरो डल्ले डल्ले, नली नलाई खान्नँ, यति राम्री केटीलाई अघि नलाई जान्नँ….’ गीतबाट चर्चा कमाएको नेपाली सांगीतिक ब्याण्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ एल्बम ‘हेर’ ल्याउने भएको छ ।

बिहीवार कर्मा ब्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन गरिररहेको एएसक्यूका प्रमुख कार्यकारी अधिकृत विजय अधिकारीले नयाँ एल्बम ‘हेर’ आउँदै गरेको जानकारी दिएका छन् ।

‘नेपाली संगीत र कलाकारहरूलाई व्यवस्थापन गरिरहेको आदि ग्रुपअन्तर्गतको एएसक्यूले उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउनका लागि सहकार्य गरेको छ,’ एएसक्यूका सिइओ विजय अधिकारीले भने– ‘यसै सन्दर्भमा नेपाली चर्चित सांगीतिक ब्याण्ड कर्मालाई व्यवस्थापन गरिरहेका छौं । हामी कर्मा ब्याण्डको नयाँ एल्बम हेर रिलिजको तयारीमा छौं । यसमा समावेश हुने गीतहरूको रेकर्डिङ सिध्याएर म्युजिक भिडियो निर्माण भइरहेको छ । म्युजिक भिडियो निर्माणको काम सिध्याएपछि कर्मा ब्याण्डको एल्बम सार्वजनिक हुनेछ ।’

उनका अनुसार कर्मा ब्याण्डको यो एल्बममा आठ वटा गीतहरू समावेश हुनेछन् । यस एल्बममा समावेश अधिकांश गीतहरूमा कर्मा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहने छ । एएसक्यूले यसअघि नेपाली सांगीतिक ब्याण्ड ‘कन्दरा’ को पुनरागमनको सिलसिलामा पोखरामा भव्य कन्सर्टको आयोजना गरेको थियो ।

‘‘हेर’ कर्मा ब्याण्डको छैटौँ एल्बम हो । यसअघि कर्मा ब्याण्डले सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको थियो । सन् २००० मा सार्वजनिक भएको दोस्रो एल्बम ‘हुक्का’ एल्बममा समावेश ‘हुक्का मेरो’ गीतले कर्मा ब्याण्ड स्रोता तथा दर्शकमाझ परिचित गराएको थियो ।

कर्मा ब्याण्डले सन् २००३ मा ‘एसएमएस’ तथा २००७ मा ‘कर्मा’ एल्बम सार्वजनिक गरेको थियो । नेपाली गीतलाई पश्चिमा संगीतसँग फ्युजन गरेर चर्चामा आएको कर्मा ब्यण्डले सन् २०१३ मा ‘नयाँ सपना’ एल्बम सार्वजनिक गरेको थियो ।

केही वर्षदेखि अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको कर्मा ब्याण्डले क्यानाडा, अष्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा रहेका नेपाली स्रोता तथा दर्शकमाझ सांगीतिक प्रस्तुति दिइसकेको छ ।

‘हाम्रो गीतहरू युवादेखि पाका उमेरका सम्मका दर्शक तथा स्रोताहरूले मनपराउने गर्नुभएको छ,’ कर्मा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने– ‘अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहे पनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो । स्रोता तथा दर्शकहरूमाझ पुग्न यसपटक कर्मा ब्याण्डले नयाँ एल्बम सार्वजनिक गर्दैछ । यसपटक हामीलाई एएसक्यूले व्यवस्थापन गरिरहेको छ ।’

कर्मा ब्यान्डको हुक्का मेरोसहित मौनतामा, कहाँ होला घरबार, ‘मार्यो, छैन मैले तिम्रो चित्त दुखाएको, सुपारी दाना, यानीमाया र ‘नयाँ सपना लगायत गीतहरू चर्चामा छन् ।

ब्याण्डले गत वर्ष कारबारी छाता गीत सार्वजनिक गरेको थियो । कर्मा ब्याण्डमा फ्रन्टम्यान सुरेन्द्रमान सिंहसहित गितारमा फिरोज बज्रचार्य र रिग्जिन वाङ्गेल, ड्रममा अनिल शाक्य र बेस गितारमा ईश्वर घले आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 February 2024
Website | + posts