त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन

त्रिभुवन विमानस्थलमा कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन : Icon Khabar

काठमाडौँ, माघ १५ । निजामति कर्मचारीले देशभर काम ठप्प पार्ने चेतावनीपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन गरिएको छ। गृहमन्त्रालयको निर्दैशनमा आइतबारबाट उनीहरुको ड्युटी परिवर्तन गरिएको हो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई ड्युटीमा खटाइएको गृहमन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायण भटराईका अनुसार ती प्रहरीलाई ड्युटीमा खटाइएको छैन।उनीहरुलाई कारबाही गरेको नभई जिम्मेवारी मात्रै हेरफेर गरिएको हो।

‘छानवीन हुँदैछ सो प्रकृया पूरा नहुन्जेल उनीहरुलाई डिउटीमा खटाइएको छैन’, प्रवक्ता भट्टराईले भने ।

निजामती कर्मचारी संगठनका प्रतिनिधिहरूले उनीहरूलाई तीन दिनभित्र कारबाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका थिए। उनीहरूले गृहमन्त्री श्रेष्ठलाई भेटेर प्रहरीबाटै कर्मचारीहरू असुरक्षित भएको जानकारी गराएका थिए।

उनीहरुले कर्मचारी कुटपीट गर्ने प्रहरीलाई कारवाही नगरेमा देशभर आन्दोलन घोषणा गर्ने जनाएका थिए ।शनिबारबाट विमानस्थल अध्यागमन कार्यरत कर्मचारीहरूले कालो पटी बाँधेर काम गरिरहेका थिए।

शुक्रबार दिउँसो अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले निर्घात रूपमा कुटपिट गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमालमाथि पनि विमानस्थलमा खटिएका प्रहरीले हातपात गरेका थिए।

अध्यागमनका एक अधिकृत छायालाल मोक्तानमाथि हातपात गरेको विषयमा हमालले प्रश्न उठाउँदा ती प्रहरीले हमालमाथि नै हातपात गरेका थिए ।

सरकारले छानबिन समिति नै बनाएर घटनाको अध्ययन गरिरहेको छ। प्रारम्भिक विवाद र कुटपिटका भएको बेलाको ‘सिसिटिभी फुटेज’ पनि सार्वजनिक भइसकेको छ।

त्यही दृश्यलाई हेरेर पक्ष/विपक्षमा बहस पनि चलिरहेको छ। घटनामा संलग्न दुवै पक्षले आ-आफ्नो कमजोरी भने स्विकारेका छैनन्। दुवै पक्ष एकअर्काविरुद्ध आमनेसामने भएका छन्।

घटनामा संलग्न व्यक्तिहरू मात्र नभई उनीहरूसम्बद्ध संगठनहरू नै आफ्नाको बचाउमा उभिएका छन्। घटनामा अध्यागमनका कर्मचारीहरुले प्रहरीले आफूमाथि हातपात गरेको बताएको छ भने प्रहरीले प्रतिरक्षा मात्रै गरेको दाबी गरेको छ।

सार्वजनिक भिडियोमा भने अध्यागमन कर्मचारीले पनि हात हालेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 January 2024
Website | + posts