मित्रकुन्जको आयोजनामा निर्माणधिन “नागमती बाँध परियोजना” सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मित्रकुन्जको आयोजनामा निर्माणधिन “नागमती बाँध परियोजना” सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौँ, माघ ७ । गत शुक्रवार सोभियत संघ र सि आइ एस राष्ट्रहरूबाट उच्चशिक्षा हासिल गरि फर्केका नेपाली विज्ञहरूको संस्था मित्रकुन्जको थिंकट्याङ्क उपसमितिले निर्माणधिन “नागमती बाँध परियोजना” सम्बन्धि प्रस्तुतीकरण र अन्तरक्रिया संवाद सम्पन्न गरेको छ।

काठमाण्डौं कमलपोखरी स्थित रुसी भवनको हलमा सम्पन्न उक्त कार्यक्रमको उद्देश्य बागमती नदी बेसिन सुधार परियोजना अन्तर्गतको “नागमती बाँध आयोजना” को सान्दर्भिकता, उपुक्तता र यसको असर सम्बन्धि विज्ञहरु माझ बहस, छलफल र अन्तरकृया गर्नु रहेको थियो ।

कार्यक्रमका प्रमुख प्रस्तोता वरिष्ठ इन्जिनियर एवं जलश्रोतविद रवि प्रसाद राजभण्डारीले यो प्रस्तावित आयोजनाले ९५ मी अग्लो बॉध बॉधी वाग्मतीको वहावमा ४५० लिटर प्रती सेकेण्ड पानी थप हुने ऑकलन गरेको तर, सो पानी पशुपति मन्दिर आईपुग्दा सम्म वास्फिकरण र चुहावटले साह्रै न्यून रहने ; बांध निर्माण स्थल संरक्षित बन्यजन्तु क्षेत्र भित्र पर्ने, करिब असि हजार रुख काटीने, वातावरणलाई असर पर्ने खालको रहेकोले नकारात्मक वातावरणिय प्रभाव हुने ; नेपाल उच्च भुकम्पीय जोखिम क्षेत्र भएकोले यदि बॉध फूटेमा काठमाण्डौको सभ्यताको क्षण भरमा नै बिनासहुने कुरा बताए ।

यहि बर्ष सिक्किम को तिष्टा नदीको बांध र लिबिया को डेर्नामा भत्केको बांध वाट हजारौ घरबस्ति ध्वस्त भएको दृष्टान्त दिद उनले काठमाडौंको नाकै माथि वन्ने यो बांध काठमाडौंवासीलाई टाइम बम र घाँटीको तरबार भएको भनेका थिए।

साथै, आयोजनाको लागत अनुमान २५ अरव अत्यन्तै महंगो भएको र त्यो ऋणमा लिन खोजिएको तथा नागमति बांध कै माथी निर्माण सम्पन्न भएको धाप बाँधको असफलताको अनुभवले पनि यसको औचित्यतामा प्रश्न खडा गर्छ भनी बताए ।

राष्ट्र्लाई ऋणको भार बोकाएर अन्य वैकल्पिक उपायको खोजिनै नगरि यस्तो जोखिम धेरै भएको उच्च बांध निर्माण गर्नु कुनैपनि दृष्टिकोणबाट ठिक छैन, यो रोकिनु पर्छ, भन्दै आफ्नो प्रस्तुति टुङ्ग्याएका थिए।

कार्यक्रमका प्रमुख टिप्पणीकार प्रा. डा. हरि पण्डितले नागमति ड्याम को डिजाइन मा अपनाईएका हाईड्रोलोजि, मेटेरियलोजि डाटाहरुको बिश्लेषणात्मक बिबरण प्रस्तुत गर्दै बागमती प्रदुषण अति छ, त्यसको लागि गरेको प्रयास सकारात्मक भएता पनि यो बांध उचित समाधान होइन, बरु फोहोर र ढल नमिसाए मात्र वागमति सफा हुन्छ, न कि यस्तो उपायले भने ।

नेपाल विद्युत प्राधिकरणका पूर्व उपप्रबन्ध निर्देशक वरिष्ठ इन्जिनियर मोहन रत्न शाक्यले प्रस्तावित बाँधको लाभ न्यूनतम रहेको, डाउनस्ट्रीमका काठमाडौं उपत्यकाका जनतालाई गम्भीर जोखिममा पार्ने र डिजाइन सन्तोषजनक नरहेको र बाढीको उच्च जोखिम छ भने ।

साथै उनले बाँध डिजाइनको विज्ञहरूको प्यानलद्वारा समीक्षा गरिएको छैन न त आइ एल ओ महासन्धि १६९ अनुसार प्रभावित व्यक्तिहरूबाट पूर्व सूचित सहमति प्राप्त भएको छ भनेका थिए । अन्तमा परियोजनाका लागि प्रस्तावित ९५ मिटर अग्लो कंक्रीट फेस गरिएको रकफिल बाँधले भूकम्पीय जोखिम निम्त्याउँछ भन्ने जिकिर उनको थियो।

वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले हाम्रो मुलकमा यतीका धेरै जोखिम भएका र प्रतिफल लगभग नभएका आयोजनाको छनौट किन गरीन्छ, गहन प्रश्न छ । यसकारण, सबै मिलेर यस्ता बकम्फूसे आयोजनाको घोर बिरोध गरौं । काठमाण्डौको शिरमा झुण्ड्याउन लागेको तरबार झुण्याउन नदिऊँ भनी टिप्पणी गरेका थिए ।

प्रस्तोता र प्रमुख टिप्पणीकारको प्रस्तुती सुनेपछि वरिष्ठ इन्जिनियर भोला छटकुलीले नागमति ड्याम बारे आफ्नो धारणाहरू राख्दै भने,” काठमाडौंको शिरमा बन्ने यो बांध कुनैपनि कारणबाट भत्केमा यसले पुर्याउने क्षती बिकराल त हुन्छ तर आजको प्रविधि विकास र डिजाइन सुरक्षामा अपनाइने पारामिटरहरुलाई केलाउदा उच्च बाँधहरु वनेकै छन र पचासौ बर्ष देखी अडेकै छन । कुलेखानी अडेकै छ । यो अवस्थामा नागमति ड्याम को बाढी जोखिम आदि हेर्दा सो बांधको १२ वर्ग.किमी जलाधर क्षेत्र रहेको, जस्मा २३२ क्यूसेक को स्पील वे राखिएको कारणलाई केलाउदा डराउन पर्दैन की भन्दै त्यसलाई सिक्किम र लिबियाको घटनासंग जोडनु भन्दा हाम्रो भूबनोटको विशिष्टता संग तुलना गर्नु पर्छ र जोखिम न्यूनिकरणको प्रावधानमा ध्यान दिनुपर्छ । “

साथै उनले सम्बन्धित आयोजनाको विचार सुनिसके पछि मात्र धारणा वनाउदा वा निचोडमा पुग्दा उचित होलाकि ? भन्दै मित्रकुञ्जले आयोजना कार्यालयसँग समन्वय गरि योजनाको विस्तृत प्रस्तुति र अन्तरकृया कार्यक्रम को आयोजना गर्ने सके अन्तिम धारणा बनाउन सहज हुने बताए।

कार्यक्रममा जलविद्युत विकास र बाढी व्यवस्थापन विज्ञ प्रा. डा. गोविन्द पोखरेलले उपत्यकामा वार्षिक सरदर २२०० मिली पर्ने भएकोले सो को उपयुक्त व्यवस्थापनबाट मात्र पनि बागमती रिचार्ज गर्न सकिने जस्ता वैकल्पिक उपाय नसोची केबल सुन्दरीजलमा पासो थापेर पानी बगाउने सोंच काँचो रहेको बताए । डिजाइन बारे टिप्पणी गर्दै प्रा. पोखरेलले प्रस्तुतिमा सेडिमेण्टको बारे कतै सुनिएन, डिजाइन डाटाहरु कोठे जस्ता लाग्छन्; बरु घरघरबाटै ढलको पानी सफा गरेर बागमती निर्मलिकरण गर्न सकिन्छ भनेका थिए।

नागमती योजना बारे आफ्नो दृष्टिकोण राख्दै वरिष्ठ इन्जिनियर राजेन्द्र शर्मा काफ्लेले पच्चीस अरब खर्चेर बनाइने आयोजनाबाट आर्थिक प्रतिफल प्राप्त हुन्छ हुँदैन, योजना कै औचित्य छ छैन त्यसको गभिर विश्लेषण हुनुपर्ने नत्र बौद्धिक जमातबाट बिरोध जनाउनु पर्ने बताए।

मित्रकुञ्ज थिंकट्याङ्क उपसमितिका सदस्य सचिव ई. रामविन्दु श्रेष्ठले उदघोषण र संचालन गरेको उक्त बहस कार्यक्रममा संस्थाका महासचिव सुष्मा खत्री रञ्जीतले थिंकट्याङ्क उपसमितिको उद्देश्य र कार्यक्रम बारे प्रकाश पारेका थिए।

कार्यक्रमको अन्त्य गर्दै थिंकट्याङ्क उपसमितिका संयोजक प्रा.डा. रमेश कुमार मास्केले यो छलफल अन्तरक्रिया कार्यक्रम अत्यन्त सान्दर्भिक रहेको र यस्तै राष्ट्र्यि सरोकारका आयोजनाहरूको संवेदनशीलता, उपयुक्तता र जवाफदेहीता को विषयमा मित्रकुञ्जले दायित्वबोधको गर्नुपर्ने अभियानको आरम्भ भएको बताए।

उक्त कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, जलश्रोतविद, विभिन्न पेशागत समूहका व्यक्तित्वहरु, आर्किटेक्ट तथा ईन्जिनियरिङ् परामशदार्तृ संस्था समाजका महासचिव आदिको समेत उपस्थिति थियो ।

मित्रकुञ्ज विगत ६ दशक देखि मुलुकको शिक्षा, स्वास्थ्य, इन्जिनीयरिङ, कृषि, अर्थतन्त्र, पूर्वाधार विकास, राजनीति र नीति निर्माण लगायतका क्षेत्रमा योगदान दिंदै आएको सोभियत संघ र सि आइ एस राष्ट्रहरूबाट उच्चशिक्षा हासिल गरि फर्केका नेपाली विज्ञहरूको संघ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 January 2024
Website | + posts