सात महिनादेखि बन्द मेलम्चीको पानी सुरुङमा पठाइयो, चार दिनमा सुन्दरीजल आइपुग्ने

सात महिनादेखि बन्द मेलम्चीको पानी सुरुङमा पठाइयो, चार दिनमा सुन्दरीजल आइपुग्ने : Icon Khabar

काठमाडौं, पुस २७ ।  भूकम्प र भ्रेमाथाङ बाढीका कारण अवरुद्ध मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ । सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो ।

मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ भरिएर सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी झर्न कम्तीमा चार दिन लाग्नेछ । माघ १ गतेसम्म काठमाडौंबासीको धारामा मेलम्चीको पानी पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

परीक्षणका रूपमा पानी प्रवेश मंगलबारदेखि सुरु गरिएको थियो । तर बिहीबारदेखि प्रतिसेकेण्ड ६ सय लिटर पानी सुरुङमा प्रवेश गराइएको हो । परिमाण बढाउँदै दैनिक दुई हजार प्रतिसेकेण्ड अर्थात् १७ करोड लिटर सुरुङमा पठाइनेछ ।

२०७८ असार १ गते आएको भ्रेमाथाङको बाढीपछि मेलम्चीको पानी राम्रोसँग काठमाडौं पठाउन सकिएको छैन । सुरुङ अन्तिम अवस्थामा काम भइरहँदा बाढी गएको थियो । बाढीले सुरुङ मार्गको हेडवर्क्ससहित धेरै संरचनामा क्षति पुर्‍याएको थियो । सोही कारण आंशिक रुपमा हिउँदमा मात्र पानी पठाउने कार्य हुँदै आएको थियो ।

त्यस्तै गत साउन अन्तिम साता आएको बाढीले ल्याएको बालुवा र ढुंगा सहितको गेग्रानले पुरिएको सिन्धुपाल्चोकको हेलम्बुस्थित मुहान क्षेत्र (हेडवर्क्स) अलपत्र परेको थियाे । त्यसलाई सफा गरेर अस्थायी रूपमा पानी सुरुङमा प्रवेश गराइएको हो ।
मेलम्ची विकास समितिले २८ दिनमा पानी काठमाडौं झार्ने गरी काम गर्न चिनियाँ ठेकेदार कम्पनीसँग गत ३ गते गेग्रान हटाउने ठेक्का सम्झौता गरेको थियो । २०७८ असारको बाढीले मुहान क्षेत्र क्षतिग्रस्त भएपछि मेलम्चीको पानी काठमाडौंमा नियमित वितरण हुन सकेको छैन ।

Published Date: 12 January 2024


ताजा
भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम! नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी
अत्यन्त जरुरी सूचना: गोसाइँकुण्डबाट काठमाडौं फर्कने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवाको बाढी : प्राकृतिक विपद् मात्रै कि सीमापार जलप्रवाहमा गम्भीर प्रश्न?
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली
डोलेश्वरको श्रावानी मेलाको आरती भन्दा ‘आसन ग्रहण’ लामो!
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास