चाकुको बास्नाले सुगन्धित ‘टोखा बजार’

चाकुको बास्नाले सुगन्धित ‘टोखा बजार’ : Icon Khabar

काठमाडौँ, पुस २१ । माघेसंक्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसंक्रान्ति पर्वमा चाकु खाने प्रचलन बढी छ ।

टोखा नेवार समुदायको मुख्य बस्ती रहेको सहर हो । यो सहरमा काठमाडौँका अन्यत्रको तुलनामा माघे संक्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्छ । माघे संक्रान्ति पर्व आउन दश दिन बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ । टोखा नगरपालिका वडा नं २ र ३ मा चाकु उत्पादन गर्ने १४ उद्योग छन् । ती उद्योग वरिपरी यतिबेला मानिसहरुको चहलपहल पनि बढेको देखिएको छ ।

टोखाबासी मात्रै नभइ काठमाडौँका अधिकांश पसलेले पनि यहीँबाट चाकु लगी बिक्री गर्ने भएकाले उनीहरुको पनि बाक्लो उपस्थिति देखिन थालेको छ । अहिले नै चाकु किन्ने नभइ खरिदका लागि ‘बुकिङ’ गर्न उनीहरु त्यहाँ पुगेका पाइएको छ । टोखाको चाकु काठमाडौँका असन, इन्द्रचोक, भक्तपुर, पाटन, कीर्तिपुर र उपत्यका बाहिरको नारायणघाट, पोखरा, बुटवल, विराटनगरलगायतका सहरमा पनि बिक्री हुँदै आएको छ ।

टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठ मङ्सिर र पुसमा यहाँका उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताउँछन् । ‘टोखाका चाकु उद्योगीहरुले वार्षिक २५ देखि ३० लाख मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकारहरु बिक्रीवितरण गर्दै आएका छन्’, उनले भने । नेवारी भाषामा ‘टु’ को अर्थ उखु, ‘ख्यः’ को अर्थ ‘फल्ने ठाउँ’ हो । टोखा उखुखेती तथा चाकु उत्पादनका लागि प्रसिद्ध ठाउँ हो । अध्यक्ष श्रेष्ठ टोखामा परम्परादेखि नै उखुखेती हुने र उक्त उखुबाट चाकुलगायत विभिन्न परिकार बनाइने भएकाले पनि टोखाको चाकुको महत्व देश र विदेशमा रहेको बताउँछन् ।

नेवारी भाषामा ‘टु’ र ‘ख्यः’ भन्दाभन्दै उक्त शब्द अपभ्रंश हुँदै ‘टोखा’ हुन गएको मानिन्छ । टोखा नगरपालिकाको नामकरण समेत टोखा बजारबाट भएको हो । टोखा नगरपालिकाले समेत टोखाको चाकु संरक्षणमा काम गरिरहेको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी टोखाको चाकु संरक्षणका लागि टोखाले चाकु उत्पादनसम्बन्धी तालिम तथा उखु क्षेत्रको भ्रमण समेत गरेको बताउँछन् । टोखा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा टोखाको चाकु अन्तर्राष्ट्रिय स्तरमा ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको उनको भनाइ छ ।

अहिले टोखामा उखु खेती हराउँदै गएको छ । टोखामा उत्पादन हुने चाकुका लागि आवश्यक पर्ने सख्खर तराईका विभिन्न जिल्ला र गुल्मीबाट आउने गरेको छ । टोखाको चाकु संरक्षणका लागि टोखा परम्परागत चाकु संरक्षण समाजले नगरपालिकाबाट दिएको रु दुई लाख ५० हजार अनुदानले तराई र गुल्मीको उखु निरीक्षणका लागि खर्च गरेको समाजका अध्यक्ष श्रेष्ठले बताए । सो समाजले गुल्मीको छत्रबास गाउँपालिकासँग भगिनी सम्बन्ध समेत स्थापित गरेको छ । गुल्मीको छत्रबास गाउँपालिका उखुका लागि प्रख्यात क्षेत्र हो । यस्तै, वार्षिक ठूलो संख्यामा मानिसहरु टोखामा चाकु उत्पादनसम्बन्धी तालिमका लागि आउने गरेका छन् । टोखामा चाकु बनाउने तालिम लिएर देशका विभिन्न स्थानमा गएर उद्योग सञ्चालन गरी काम गर्ने गरेको टोखा परम्परागत चाकु संरक्षण समाजले जनाएको छ । हाल नेपालभर ५० देखि ६० चाकु उद्योग छन् । जसमध्ये १४ वटा टोखामा छन् ।

माघे सङ्क्रान्ति पर्वका अवसरमा देशभरका ६० उद्योगमा एक लाख ५० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपमा रोजगारी पाउने गरेको समाजका अध्यक्ष श्रेष्ठ बताउँछन् । टोखामा इस्वी संवत् ५१९ देखि चाकु बनाउने प्रचलन चलेको किंवदन्ती पाइन्छ । लामो समयदेखि चाकु बनाउँदै आएको टोखाको परम्परागत चाकु उद्योगलाई बचाउनका लागि विसं २०७३ कात्तिक २२ गते टोखा परम्परागत चाकु संरक्षण समाज स्थापना गरिएको थियो । टोखामा ५० वर्षदेखि चाकु उत्पादन गर्दै आएका राजकाजी श्रेष्ठ टोखाको चाकु नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत माग आइरहेको बताए । चाकुको माग अत्यधिक भएपछि बजारसम्म पुर्‍याउन भ्याइनभ्याइ भएको उनको भनाइ छ । टोखाका उद्योगमा हाल सादा चाकु मसला चाकु, स्पेशल चाकु, सेतो लड्डु, कालो लड्डु, बम्बे लड्डु, पुष्टकारी, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन भइरहेका छन् ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी टोखामा उत्पादित चाकुलाई अन्तर्राष्ट्रियस्तरसम्म लैजानका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउँछन् । टोखाको चाकु संरक्षणमा नगरपालिका गम्भीर भएर लागेको उनको भनाइ छ । टोखा काठमाडौँ क्षेत्र नं ५ मा पर्दछ । काठमाडौँ क्षेत्र नं ५ का सांसद प्रदीप पौडेल टोखाको चाकुलाई गुणस्तरीय रुपमा उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारससम्म लैजानका लागि आफूले उद्योग मन्त्रालयलाई ध्यानाकर्षण गरिसकेको बताउँछन् । ‘टोखा चाकुका लागि प्रख्यात क्षेत्र हो, यहाँ राज्यबाटै चाकु उत्पादनको पहल गर्नसके हजारौँ व्यक्तिले रोजगारी पाउनेछन्, त्यसका लागि मैले सम्बन्धित क्षेत्रमा पहल गरिरहेको छु’, उनी भन्छन् ।

उनी टोखाको चाकुलाई नेपालको चक्लेट भनेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने बताउँछन् । टोखामा उत्पादन भएको चाकु अहिले प्रतिकिलो रु एक सय ३० देखि एक सय ३५ सम्म बिक्री वितरण हुँदै आएको छ । नेवारी संस्कृतिमा माघ १ गते चाकु खानैपर्ने प्रचलन छ । साथै, नेवार समुदायमा काजरियाको बेलामा पनि चाकु खाने चलन छ । चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ । चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ । रासस

Published Date: 06 January 2024


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग