चार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न

चार सम्झौतामा हस्ताक्षर गर्दै नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न : Icon Khabar

काठमाडौं, पुस १९ ।  नेपाल र भारत संयुक्त आयोगको सातौँ बैठक आज (बिहीबार) एक घण्टा पनि नबसी सकिएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरले नेतृत्व गरेको बैठकमा द्विपक्षीय आर्थिक सम्बन्ध, सम्पर्क सञ्जाल, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको छ ।

याक एन्ड यती होटलमा भएको बैठकमा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री र नेपालमा भारतीय परियोजना बढाउने विषयबाहेक अन्य विषयमा छलफल नभएको सरकारी अधिकारीहरूले जानकारी दिए । भारतले जाजरकोट भूकम्पको पुनर्स्थापनाका लागि १० अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।

भारतीय परराष्ट्रमन्त्री जयशंकरले नेपालको विकासका लागि भारत सहयोगी भाव रहने भन्दै त्यो रकम घोषणा गरेका हुन् । नेपाल सरकारले यसलाई सम्झौताभन्दा पनि भारतीय सद्भावको घोषणाका रूपमा लिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने, ‘बैठकमा जलस्रोत, बाढी नियन्त्रणलगायत समग्र दुईपक्षीय विषयमा छलफल भएको छ भने चार सम्झौता-सहमति आदानप्रदान भएका छन् ।’

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । यसैगरी स्याटेलाइट प्रक्षेपणमा सम्झौता भएको जानकारी प्रवक्ता राईले दिए । उनका अनुसार नेपालले बनाएको स्याटेलाइट प्रक्षेपण गर्न सहयोग गर्न भारत सहमत भएको छ । साथै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा सहयोग गर्ने सहमति भएको छ। राईका अनुसार नानो स्याटेलाइट प्रक्षेपणका लागि नास्ट र डिपार्टमेन्ट अफ स्पेस भारतबीच सम्झौता भएको हो ।

यसैगरी मेजर क्रस बोर्डर ट्रान्समिसन लाइन उद्घाटन भएको छ । यसअन्तर्गत १३२ केभी, पर्वानीपुर–रक्सोल–कटैया–कुसाहा, मेनाहिया–नौतवा प्रसारण लाइन छन् । बिहीबार भएको सम्झौताअनुसार अब भारतीय दूतावासले एउटा साना परियोजनामा २० करोड रुपैयाँसम्म सोझै लगानी गर्न सक्नेछ । यसअघि लगानीको सीमा पाँच करोड रुपैयाँ थियो । भारतीय परराष्ट्रमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेपछि बसेको आयोगको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो ।

परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय आर्थिक सम्बन्ध, कटेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा र संस्कृति तथा राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उनले जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्न पाउँदा आफूलाई निकै खुसी लागेको उल्लेख गर्दै विषयगत क्षेत्रहरूअन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको बताए ।

जयशंकर बिहीबार बिहान काठमाडौँ आएका हुन् । परराष्ट्रमन्त्री एनपी साउदले उनलाई त्रिभुवन विमानकै ढोकामा पुगेर स्वागत गरेका थिए । अन्य मुलुकमा आफ्ना समकक्षीलाई विमानस्थलको ढोकामा पुगेर होइन मन्त्रालय वा विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्ने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 January 2024
Website | + posts