पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा

पोखरालाई हराउँदै ललितपुर एनएसएलको फाइनलमा : Icon Khabar

काठमाडौँ, पुस १२ । नेपाल सुपर लिग २ अन्तर्गत दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी फुटबल क्लबले उपाधि भिडन्तमा स्थान बनाएको छ ।

दशरथ रंगशालामा अतिरिक्त समयसम्म लम्बिएको खेलमा २-१ को रोमान्चक जित दर्ता गर्दै ललितपुर फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफमै १० खेलाडीमा सिमित ललितपुरले खेलको ९० मिनेट भन्दा बढी समय कम खेलाडीमा खेलेपनि जित दर्ता गर्यो ।

खेलको ३३ औं मिनेटमा निखिल कदमले रातो कार्ड पाएपछि ललितपुर १० खेलाडीमा सिमित भएको थियो । त्यसका बाबजुद पहिलो हाफको इन्ज्युरी समयमा इमोह इजेकेलले ललितपुरलाई अग्रता दिलाए । दोस्रो हाफमा पापा अनोरले पोखराका लागि बराबरी गोल फर्काए । अतिरिक्त समयको पहिलो हाफमा कुशल देउवाले गोल गर्दै ललितपुरलाई अघि बढाएका थिए ।

ललितपुरले जित हासिल गरेसँगै अब उपाधिका लागि धनगढी र ललितपुरले खेल्नेछन् । फाइनल शनिबार हुनेछ । पहिलो मिनेटमा नै ललितपुरका सनिश श्रेष्ठको क्रस पोखराका गोलरक्षक यभ्स प्रिसोले समाते । तेस्रो मिनेटमा पोखराका स्टेफन अन्नोरको प्रहारले ललितपुर गोलरक्षक जेफ्रि बाल्टुसलाई दुःख दिन सकेन ।

अर्को मिनेटमा पोखराकै सुरज जिउ ठकुरीको क्रसमा माेसेस ग्याबाको हेडर पोस्टतर्फ जान सकेन । छैठौं मिनेटमा आधित्य शाक्यले बक्स बाहिरबाट लिएको प्रहार शक्तिशाली रहन सकेन ।

आठौं मिनेटमा पुनः ललितपुरका निखिल कदमले बक्स बाहिरबाट लिएको शक्तिशाली प्रहार प्रिसोको सिधा जान पुग्यो । २८औं मिनेटमा सुरजको कर्नरमा दिनेश राजवंशी र मोसेस ठोकिएपछि राम्ररी हेडर प्रहार गर्न सकेनन् । ३२औं मिनेटमा जो आइडुको क्रसमा माेसेसको हेडर डिफ्लेक्ट भएर पोस्टको थोरै टाढाबाट बाहिरियो ।

३४औं मिनेटमा ललितपुर १० जनामा सिमित भयो । मिडफिल्डर निखिल दोस्रो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि ललितपुर १० जनामा सिमित भएको हो । ४२औं मिनेटमा नरेन्द्र चौधरीको क्रसमा माेसेसले हेडर पोस्ट तर्फ प्रहार गर्न सकेनन् ।

इन्ज्युरी समयको पहिलो मिनेटमा ललितपुरले काउन्टर अट्याकमा अग्रता लियो । पापा इबु केबेले आफ्नै हाफबाट दिएको लामो पासमा इमोहले अफसाइड ट्रयाप बिट गर्दै बल अघि बढाए । इमोहले दिनेश र क्वेटेको दबाब छिचोल्दै पेनाल्टी क्षेत्रभित्र पुगेर इभ्स प्रिसोलाई सहजै बिट गरे ।

५२औं मिनेटमा आइडुको लङ्ग रेन्ज प्रहार बाल्टुसले समाते । ५४औं मिनेटमा आयुष घलानले बक्स बाहिरबाट गरेको प्रहार पोस्टको थोरै टाढाबाट बाहिरियो ।

६३औं मिनेटमा दिनेश राजवंशीको फ्रिकिक बाल्टुसले फेरि समाते । ७१औं मिनेटमा पोखराले बराबरी गोल फर्कायो । आइडुको क्रसमा अन्नोरले हेडर मार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । ८८औं मिनेटमा अनन्तको हेडरले पोस्टको दिशा लिन सकेन । इन्ज्युरी समयको तेस्रो मिनेटमा निरज चौधरीको प्रहार प्रिसोले बचाए ।

९४औं मिनेटमा एन्जल महर्जनले बक्स बाहिरबाट पोस्टको माथि प्रहार गरे । ९९औं मिनेटमा ललितपुरले खेलमा पुनः अग्रता लिन सफल भयो । ओमोलाजा करिमको फ्रिकिकमा अनन्तको हेडर पश्चात पोखराको डिफेन्सले बल क्लियर गर्न नसकेपछि कुशल देउवाले गोल गर्दै खेलमा ललितपुरलाई पुनः अग्रता दिलाए ।

अतिरिक्त समयको पहिलो हाफको इन्ज्युरी समयमा फ्रान्कलिन टाल्लाले सिक्स यार्ड बक्स बाट पोस्टको माथि प्रहार गरे । १०९औं मिनेटमा पोखराका गोलरक्षक प्रिसो फ्रिकिक प्रहार गर्न अगाडि आएका थिए । तर उनको फ्रिकिक पोस्टको निकै माथिबाट बाहिरियो

लिग तालिकामा शिर्ष स्थान हासिल गरेको पोखरा पहिलो क्वालीफायरमा धनगढी विरुद्ध टाईब्रेकरमा पराजित हुँदै दोस्रो क्वालीफायर खेल्न बाध्य भएको हो भने ललितपुर इलिमिनेटरमा काठमाडौँलाई ३-० ले पराजित गर्दै यहाँको यात्रा तय गरेको हो । धनगढी शनिबार हुने फाइनलमा प्रवेश गरिसकेको थियो ।

Published Date: 28 December 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता