उमेर वृद्ध कि सोच ?

जेष्ठ नागरिक क्यान्सर व्यवस्थापनमा नयाँ क्षितिज

उमेर वृद्ध कि सोच ? : Icon Khabar

काठमाडौँ, पुस १० । ८७ वर्षीय निर माया तामांग जब आफ्नो छोरोसंग मेरो OPD मा आए, उनको अनुहारमा एक किसिमको नौलो आशा ,उमंग छाएता पनि लुकेको हाँसो भित्र एक किसिमको अनौठो निराशिपना देखिन्थ्यो । गाउँ घरको उकालो-उरालो, स्वोच्छ हावापानी , जैविक खानेकुराले गर्दा खुट्टा-पाखुरा बलिया भएता पनि एक बर्ष देखि पिसाबमा देखिएको रगत जांच गर्दा , तेस्रो स्टेजको क्यान्सर देखिएको थियो।

बर्षौ देखि घरको आँगनमा बसेर तानेको हुक्का ले हो कि कुन्नि ,केहि वर्ष देखि दमको(COPD) समस्याले गर्दा ,बिशेष गरि जाडो याममा स्या-स्या बढेको थियो र त्यो बाहेक अरू खासै रोग चाही थिएन । क्यान्सर सल्याचिकित्सक बिशेसज्ञ रुपमा दशौ वर्ष देखि अनुभव बटुलेता पनि उहाँको क्यान्सर रोगलाई उपचार गरौ कि , बुढो बाजेको बाँकी उमेरलाई पिडा रहित सामान्य उपचार मात्र गरौ भन्ने दुबिधा मलाई नभएको होइन र सायद उनको छेवैमा बसेको जेठो छोरोलाई पनि त्यस्तै हुँदो हो।

हरेक समय जब वृद्ध क्यान्सर बिरामीहरु हेर्छु, आखिरमा उनको जीबन कति नै वर्ष बाँकि छ र ? क्यान्सरको कडा खालको निर्दयी उपचार के उनले थाम्ला र ? के मैले क्यान्सरको ठुलो अप्रेसन गर्दा उनको रोगले भन्दा मेरो अप्रेशनको कारणले ज्यान जाने होइन ? यी र यस्ता प्रश्नहरु मलाई मात्र होइन संसार भरिका क्यान्सर रोग बिशेसज्ञहरुलाई हुँदो रहेछ ।

सल्य-चिकित्सा अध्यानको पहिलो वर्षमा, मेरो गुरु प्रोफेसरले Do not treat the patient, but treat the disease भन्नु भएको थियो तर यस्तो परिस्थितिमा मैले मेरो गुरुले भन्नु भएको कुरा सुन्ने कि हृदय भित्र लुकेको कोमल सहानुभूति र माया लाई सुन्ने हो अझै ठम्याउन सकेको छैन।

हामी अहिले यस्तो युग मा छौ जहाँ सुधारिएको जीबन शैली ,राम्रो स्वास्थ हेरचाह र चिकित्सा सहयोगको कारणले औसत जीबन प्रत्यासी र आयु बढेको छ । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०५० सम्ममा ६० वर्ष वा सोभन्दा माथिका विश्वको जनसंख्या २०१५ मा ९० करोड रहेकोमा २ अर्ब पुग्ने अनुमान गरेको छ ।

आज १२ करोड ५० लाख मानिस ८० वर्ष वा सोभन्दा माथिका छन्। क्यान्सर हुनुमा बढ्दो उमेर नै एक महत्वपुर्ण जोखिम कारण हो । नयाँ निदान भएका क्यान्सर रोगको ६० प्रतिसत र सबै क्यान्सर मृत्युको ७० प्रतिसत , ६५ वर्ष माथिका रहेको तथ्यांक छ । दुर्भाग्यबस मात्र उमेर को कारणले गर्दा धेरै बृद्धहरुले युवाहरुको तुलनामा भरपर्दो उपचार पाएका हुदैनन् ।

धेरै अन्कोलोजिस्टहरु बढ्दो मृत्यु जोखिमको कारण क्यान्सरको मानक उपचार प्रस्ताब गर्न हिचकिचाउँछन् । क्यान्सर को उपचार बृध्दाहरुमा निकै चुनौतिपूर्ण हुन्छन , त्यसमा माथि बढ्दो उमेर संगै आएको मधुमेह,हृदय र मृगौलाका दीर्घकालीन स्वास्थ्य समस्यहरु हुने सम्भावना बढी भएकाले थप चुनौती थपिन्छन् । क्यान्सरको विभिन्न उपचारहरू पनि बृध्दाहरुको शरीरका कोशीकाहरुमा भिन्नै किसिमले प्रतिक्रिया गरेको हुन्छ र उपचारको नतिजा पनि अप्रत्यासित हुन्छन ।

उपचारमा बढ्दो आर्थिक बोझ र निर्भर, घर-परिवारमा साथ-सहयोगको अभाब र हेरचाहको निम्ति अरूको बोझ हुने डरले गर्दा पनि पर्याप्त मानक उपचार पाएका हुदैनन् । भरपर्दो सामाजिक सुरक्षा बीमा नभएको हाम्रो जस्तो देशमा बृध्दहरुलाई उपचार बाहेक चाहिने आर्थिक ,मनोबैज्ञानिक र सामाजिक साथ सहयोग चाहिन्छ र त्यसै कारणले उपचार गर्ने कि नगर्ने भने मुख्य निर्णय बिरामी आफैले भन्दा पनि परिवारका अरू सदस्यहरुले गर्छन ।

यी सामाजिक र शारीरिक परिस्थितिहरुका कारण उपचार मात्र होइन संसारभरि बृध्दहरुमा clinical trials र अनुसन्धान पनि कम भएको देखिएको छ /

तर के उपचारको निर्णय गर्दा उमेर मात्र कारक हुनुपर्छ?

जेष्ठ उमेर कि जेष्ठ शरीर
Age is just a number. बढ्दो उमेर संगसंगै शरीरमा विभिन्न चुनौतीहरु थपिंदै जान्छन/ शाररिक दुर्बलता, मनोबैज्ञानिक र सामाजिक कमजोरी, मानसिक थकान , दिर्घ रोग आदिका कारण क्यान्सर र क्यान्सर उपचारसंग लड्ने क्षमता कम हुनसक्छ भन्ने आम धारणा बिधित छ, तर यसमा सत्यता नहुन सक्छ ।

हामीले केही अतिरिक्त हेरचाह र समर्थनको साथ क्यान्सर उपचार सफलतापूर्वक पार गरेको वृद्ध जेष्ठ नागरिकहरु देखेका छौं अनि अर्कोतिर कम उमेरका युवाहरुले त्यहि उपचार थेग्न नसकेर अकालमै ज्यान गुमाएको धेरै असफल उदाहरणहरु पनि देखेका छौँ ।

त्यसै कारणले भनिन्छ नि ” One size doesn’t fit all” . उपचारमा औषधिको केहि डोज तल –माथि मिलाएर , side effect न्यून गर्न सकिन्छ तर उमेरकै कारणले विभिन्न बहानामा चाहिने उपचारबाट बन्चित गर्नु चाही संकुचित सोच र पारिवारिक जिम्मेवारीबाट टाढा भाग्नु हो। हरेक चिकित्सकहरुले पनि बिरामीको उमेर मात्र होइन , उसको functional status, physiological reserve and performance status को आधारमा बिरामी “Fit or Frail” निर्क्योल गरि उपचारका बिधिहरु अपनाउन पर्दछ ।

Fit or Frailty
Frailty कन्सेप्ट भनेको मानिस शरीरको विशिष्ट स्वास्थ्य अवस्था हो, जुन उमेरको कारणले नभई, प्राकृतिक प्रगतिशील शाररिक दुर्बलता हो । यो कन्सेप्ट को अवधारणाले हामीलाई जेस्ठ उमेरलाई नहेरी, एउटा प्राकृतिक मानव शरीरको चित्रण गरि क्यान्सरको उपचार जस्तै केमोथेरापी, रेडियोथेरापी, इम्मुनोथेरापी र क्यान्सर सल्यक्रिया सहन सक्छ कि सक्दैन भन्ने निर्क्योल गरि सहज र सुरक्षित उपचार गर्न मद्दत गर्दछ ।

Geriatric Assessment –एक सुनौलो औजार
मानब शरीरको प्राकृतिक दुर्बलता ( Frailty) मुल्यांकन गर्ने सुनौला औजार Comprehensive Geriatric Assessment हो । यसको प्रयोग ले वृद्ध वयस्कहरूको क्यान्सर उपचारबाट हुन सक्ने गम्भीर साइड इफेक्टहरूको उच्च जोखिम पहिचान गर्न सकिन्छ । November 2021 The Lancet जर्नलमा प्रकाशित भएको नतिजा अनुसार सो कुरा प्रमाणित भईसकेको छ । Comprehensive Geriatric Assessment मा निम्न बुंदाहरु समेटिएर मुल्यांकन गर्छ ।

Physical performance- सन्तुलन, चाल गति, र बल
Functional status- नुहाउने, लुगा लगाउने र खाने जस्ता गतिविधिहरूमा कठिनाई
Co-morbidities- अन्य रोगहरूको उपस्थिति, साथसाथै श्रवण र दृष्टि कमजोरी
Cognition – अभिमुखीकरण, मेमोरी, र एकाग्रता
Nutrition- वजन र 6 महिना भित्र वजन परिवर्तन
Social support- दैनिक जीवनमा चाहिएको समयमा सामाजिक गतिविधिहरू
Polypharmacy- नियमित निर्धारित औषधि र उच्च जोखिम औषधिहरूको
Psychological status- depression र चिन्ता

जेस्ठ नागरिक क्यान्सर Survivorship
एउटा क्यान्सररोग बिशेसज्ञ, परिवार र स्याहारकर्ता रुपमा हाम्रो जिम्मेवारी उपचारमा मात्र सीमित हुनु हुदैन । क्यान्सर उपचारपछि उपचारका प्रतिकुल प्रभाबहरुको व्यवस्थापन गर्नु पनि उत्तीकै जरुरि हुन्छ । वृद्ध बिरामीको उपचार गर्ने वा नगर्ने निर्णय लिइरहँदा, उसको जीवनको गुणस्तरलाई( Quality of Life ) विचार गर्न निक्कै महत्त्वपूर्ण छ । क्यान्सर रोगको उपचार पश्चात स्वस्थालभ हुदै गर्दा जीबनमा आएका गगनचुम्बी चुनौतीहरु पार गर्दै एउटा नौला जीवन सुरुवात गर्नु महाभारत युद्ध विजय भएको अनुभूति हुन्छ ।

आफ्नो शरीरमा गुमेको आत्मविश्वास पुनर्स्थापित गर्न र अन्योल भविष्यका विभिन्न खराब सोचहरुले क्यान्सरलाई जितेर आएका यी योद्धाहरुलाई सदैव सताइरहन्छ । तर पनि समय क्रममा यी जेस्ठ क्यान्सर survivorहरु ,बिस्तारै बिस्तारै यी पीडाहरु बिर्सिदै, यी समस्याहरुलाई आत्मसाथ गर्दै बाँच्न सिक्छन् । Cancer survivor प्रायः एक किसिमको अनौठो डर, खुसी, दोष, राहत, चिन्ता, मिस्रित भावनाहरूको बोकेर बसेका हुन्छन ।

क्यान्सर विरुद्धको लडाई हार्ने डर, परिवारको आवश्यकताहरु अनि मुख्यतय उपचार खर्चको लागी आर्थिक तनावले जीबनमा उदासीनता र कालो बादल छाएको हुन्छ । अन्तत. माया,साथ सहयोग अनि स्वास्थ हेरचाहकर्ताहरुलाई मनोवैज्ञानिक प्रशिक्षण सहायता, भावनात्मक परामर्श, पोषण सल्लाह, र क्यान्सर अस्पताल मा पनि छुट्टै Geriatric Oncology बिभाग नै विकास गरि अगाडी बढेमा जेस्ठ नागरिकहरुको क्यान्सर रोग उपचार गर्न सकिन्छ ।

लेखक: डा . पुण्यराम खर्बुजा

             सल्य-चिकित्सक तथा सर्जिकल अन्कोलोजिस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
Published Date: 26 December 2023
डा. पुण्य खर्बुजा
+ posts