स्वास्थ्य बीमा बोर्डको निर्णय: फलोअपमा अस्पताल जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने

दीर्घ बिरामीका लागि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने

स्वास्थ्य बीमा बोर्डको निर्णय: फलोअपमा अस्पताल जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने : Icon Khabar

काठमाडौं, पुस ३ । स्वास्थ्य बीमा बोर्डले बीमामा आवद्ध बिरामीको सहजताका लागि दुई निर्णय गरेको छ। बोर्डले एक पटक ‘रेफर’ भई आएका बीमित बिरामीले सोही रोगका लागि फलोअपमा अस्पताल जानु पर्दा पुन: ‘रेफर’ गराउन नपर्ने र नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था मिलाउने निर्णय गरेको हो।

यसअघि नियमित फलोअपमा गइरहनु पर्ने स्वास्थ्य बीमामा आवद्ध बिरामीले उपचारमा बीमा सुविधा लिनका लागि हरेक पटक प्रथम विन्दुबाट रेफर कागज लिएर जानु पर्ने हुन्थ्यो। यसका साथै त्यस्तो रेफर बनाएको एक साता भित्र सेवा लिइसक्नु पर्ने व्यवस्था थियो। जसका कारण बिरामीले निकै दुख र झन्झट व्यहोर्नुपर्ने अवस्था थियो।

बोर्डले बीमित बिरामीको सहजताका लागि प्रक्रयामा केही सुधार ल्याउन नयाँ निर्णय गरेको जनाएको छ। बोर्डले एउटै रोगका लागि फलोअपमा जानु पर्ने बिरामीले हरेक पटक रिफर कागज गराईराख्नु नपर्ने व्यवस्था मिलाएको हो।

‘एक पटक रेफर भई आएका बीमित बिरामीहरुलाई सोही रोगको फलोअपका लागि पनु: रेफर पुर्जी लिन नपर्ने गरी व्यवस्था गर्ने,’ बोर्डले सबै सेवा प्रदायकहरुलाई पठाएको निर्णयको पत्रमा भनिएको छ।

यसका साथै नियमित औषधि खानु पर्ने स्वास्थ्य बीमामा आवद्ध दीर्घ बिरामीका लागि पनि एक पटकमा तीन महिनाका लागि औषधि लिन सक्ने व्यवस्था बोर्डले पुन: मिलाएको छ। यसअघि यस्ता बिरामीलाई एक महिनाका लागि मात्रै औषधि दिने व्यवस्था गरिएको थियो।

विगतमा तीन महिनामा नै औषधि दिने व्यवस्था भएपनि पछि त्यसलाई घटाएर एक महिना बनाइएको थियो। जसका कारण अस्पतालहरुमा अनावश्यक भीड बढेको थियो। बोर्डले बिरामी र अस्पताललाई सहज हुने गरी फेरि तीन महिनासम्मका लागि औषधि उपलब्ध गराउने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 December 2023
Website | + posts