आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम : Icon Khabar

काठमाडौं, पुस १ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता तथा रामको विवाह भएको सम्झनामा आज पुस १ गते आइतवार राम– सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । विवाह पञ्चमीको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विशेष विधिपूर्वक मनाइँदै छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमी अर्थात आजैका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत शुक्रबार माता सीताको मटकोर विधिको तयारी गरिएको थियो ।

शनिबार ऐतिहासिक गंगासागर पोखरीमा सीताको मटकोर गरिएको थियो ।

विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभा यात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरू समेत सहभागी हुने गर्छन् । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल(भारतका लाखौँ श्रद्धालु सहभागी छन् ।

महोत्सवको पाँचौँ दिन शनिबार सन्ध्या मटकोर गरिएको थियो भने आज अपराहृन सीता स्वयंवर तथा रात्रिमा राम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ ।

मंसिर २६ गतेदेखि विधिवत रुपमा प्रारम्भ भएको सीता–राम विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

शनिबार पाँचौँदिन मटकोर भएपछि आज आइतबार छैटौँ दिन राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाह पञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।

Published Date: 17 December 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ