आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम

आज विवाह पञ्चमी, जानकी मन्दिरमा विशेष कार्यक्रम : Icon Khabar

काठमाडौं, पुस १ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमीका दिन भगवान सीता तथा रामको विवाह भएको सम्झनामा आज पुस १ गते आइतवार राम– सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदै छ । विवाह पञ्चमीको अवसरमा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान सीता र रामको विवाह महोत्सव आज विशेष विधिपूर्वक मनाइँदै छ ।

गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनक नन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए । शिव धनुषलाई भाँचेपछि मंसिर शुक्ल पञ्चमी अर्थात आजैका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवी–देवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

त्रेता युगमा माता सीता र भगवान् श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्षजस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत शुक्रबार माता सीताको मटकोर विधिको तयारी गरिएको थियो ।

शनिबार ऐतिहासिक गंगासागर पोखरीमा सीताको मटकोर गरिएको थियो ।

विवाह महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ ।

पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रंगभूमिमा पुर्‍याइन्छ । त्यस्तै, जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको डोला शोभा यात्रामा मिथिला क्षेत्रसँगै विभिन्न स्थानलगायत भारतीय श्रद्धालुहरू समेत सहभागी हुने गर्छन् । त्रेतायुगको झझल्को दिने उक्त विवाहमा नेपाल(भारतका लाखौँ श्रद्धालु सहभागी छन् ।

महोत्सवको पाँचौँ दिन शनिबार सन्ध्या मटकोर गरिएको थियो भने आज अपराहृन सीता स्वयंवर तथा रात्रिमा राम र सीताबीच मिथिला परम्पराअनुसार विवाह हुनेछ ।

मंसिर २६ गतेदेखि विधिवत रुपमा प्रारम्भ भएको सीता–राम विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेको छ ।

शनिबार पाँचौँदिन मटकोर भएपछि आज आइतबार छैटौँ दिन राम र जानकीको विवाह र सोमबार राम कलेवा गरी विवाह पञ्चमी महोत्सव विधिवत सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 December 2023
Website | + posts