भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर

भक्तपुर नगरपालिका र चीनको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबारे समझदारी पत्रमा हस्ताक्षर : Icon Khabar

भक्तपुर, मंसिर २६ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागमती प्रदेशको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापित भएको छ ।

लशान नगरपालिका उपप्रमुख लेइ चियनसिनको नेपाल भ्रमणको अवसरमा भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र लशान नगरपालिका जनसरकारका प्रमुखको अनुमतिमा उपप्रमुख लेइ चियनसिनद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।

भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच भएको फलदायी छलफलपछि यी दुई नगरपालिकाहरूबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा दुई नगरपालिकाहरुबीच पारस्परिक सम्बन्ध विकास र विस्तारका कार्यहरुलाई अगाडि बढाउने उद्देश्यका साथ उक्त समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

समानता र पारस्परिक लाभका आधारमा दुई नगरपालिकाले अर्थतन्त्र, व्यापार, संस्कृति, शिक्षा, पर्यटन, स्वास्थ्य, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा विभिन्न प्रकारका सहकार्य र आदानप्रदान गरिने र आदानप्रदानको प्रगतिको आधारमा दुवै नगरपालिकाले उपयुक्त समयमा अन्तर्राष्ट्रिय भगिनी सहर सम्बन्धको स्थापनालाई अगाडि बढाउन मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरिएको हो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका र लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापना गरी भविष्यमा पारस्परिक हित हुने गरी सहकार्य र सहयोग गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गर्न पाएकोमा खुशी प्रकट गरे ।

प्रमुख प्रजापतिले समझदारी पत्रमा उल्लेख भएबमोजिम दुइ नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने आशा व्यक्त गरे।

त्यस्तै लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनले दुई नगरबीचको मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनाबाट हुने आर्थिक, पर्यटन तथा सांस्कृतिक आदानप्रदानले दुवैको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे।

लशान सिचुवान प्रान्तकै विकासको सम्भावना बोकेको नगरपालिकाको रुपमा विकास भइरहेको अवगत गराउँदै उपप्रमुख चियनसिनले मैत्रीपूर्ण सम्बन्ध स्थापनाबाट दुई नगरबीच हुने कृषि, सम्पदा संरक्षण, सांस्कृतिक पर्यटन आदानप्रदानले दुवै नगरको आर्थिक विकासमा समेत टेवा पुग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 December 2023
Website | + posts