एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित

एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग पराजित : Icon Khabar

काठमाडौँ, मंसिर २२ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।

पाकिस्तानका लागि दुई ब्याट्सम्यानले अर्धसतकीय योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान अजान अवाइसले अविजित ५६ रन बनाए । उनले ६२ बलको सामना गरी आठवटा चौका प्रहार गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान साद बेगले पनि टोलीको खातामा ५० रन थपेका थिए ।

तेस्रो विकेटका रुपमा पेभेलियन फर्किनुअघि उनले ५६ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । उनलाई आकाश त्रिपाठीले सुवाष भण्डारीमार्फत क्याच गराएका थिए । केवल २३ रनको कुल स्कोरमा दुबै ओपनरलाई गुमाएको पाकिस्तानलाई अजान र सादले एक सय ३१ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए ।

मोहम्मद जिसन २० रनमा अविजित रहे । उनले केवल आठ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । नेपाली टोलीका बलर गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा १२ रन पाएको थियो ।

पाकिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका थिए । पहिलो ओभरको तेस्रो बलमै गुल्सनले पाकिस्तानको विकेट लिएका थिए । उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराएका थिए । गुल्सनले आफूले गरेको बलिङमा आफैले क्याच लिएका थिए ।

पाकिस्तानको दोस्रो विकेट पनि गुल्सन झाले नै लिएका थिए । उनले सहजिब खानलाई दिपेश कँडेलद्वारा क्याच गराएका थिए । ओपनर सहजिब खानले २९ बलमा दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ६.४ ओभरमा २३ रन बनाएको थियो ।

त्यसअघि नेपालका लागि उत्तम रंगु थापामगरले सर्वाधिक ५१ रन बनाएका थिए । दिपेश कँडेलले पनि ३१ रनको योगदान गरेका थिए । ओपनर अर्जुन कुमालले २१ रन बनाएका थिए । नेपालले अतिरिक्त रुपमा २१ रन पाएको थियो । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यान खासै चल्न सकेनन् ।

पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन सबैभन्दा प्रभावकारी ठहरिए । उनी एक्लैले ६ विकेट लिएका थिए । उनले ९.२ ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । अमिर हसनले पनि दुई विकेट हात पारे । उबैद शाह र अली असफान्दले पनि एक(एक विकेट लिएका थिए ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रुपमा पहिलो विकेट गुमाएको थियो । तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । तिलक आउट हुँदा नेपालले २.२ ओभरमा १० रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले २५ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा कप्तान देब खनाललाई गुमाएको थियो । १३ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका देबलाई पाकिस्तानी बलर मोहम्मद जिसनले अली असफान्दद्वारा क्याच गराएका थिए । ११.४ ओभरमा उनी आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान अर्जुन ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भएका थिए । १६ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । अर्जुनलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो दोस्रो विकेट थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । राष्ट्रिय टोलीका प्रभावशाली सदस्य समेत रहेका गुल्सन चार बलमा एक रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अली असफान्दले बोल्ड गरेका थिए । १७ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर ४६ रन बनाएको थियो ।

छैटौँ विकेटका रुपमा नेपालले दिपेश कँडेललाई गुमाएको थियो । उनी ३१ रन बनाउँदै आउट भएका थिए । उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प्रहार गरेका थिए । दिपेश आउट हुँदा नेपालले ३३.४ ओभरमा एक सय १४ रन बनाएको थियो ।

दीपेश र उत्तम रंगु थापामगरले नेपालका लागि ६८ रनको साझेदारी गरेका थिए । दिपेशलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो तेस्रो विकेट थियो । यसका अतिरिक्त पाकिस्तानी विकेटकिपरले लिएको यो तेस्रो क्याच पनि थियो ।

नेपालले सातौँ विकेटका रुपमा विशालबिक्रम केसीलाई गुमाएको थियो । उनी नौ बलमा केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी पाकिस्तानी बलर मोहम्मद जिसनको बलमा सामल हुसैनद्वारा क्याच भएका थिए । जिसनले लिएको यो चौथो विकेट थियो । चार विकेट लिँदासम्म उनले सात ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । विशाल आउट हुँदा नेपालले ३५.४ ओभरमा एक सय १९ रन बनाएको थियो ।

आठौँ विकेटका रुपमा विपिन रावल आउट भएका थिए । नौ बलको सामना गरेका विकेककिपर ब्याट्सम्यान विपिनले खातासम्म खोल्न सकेनन् । ३८ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो । विपिनको विकेट पाकिस्तानी बलर मोहम्मद जिसनले लिएका थिए । जिसनले लिएको यो पाँचौँ विकेट थियो । जिसनले फालेको बल ‘नो बल’ भएको भन्दै थर्ड अम्पायरले निणर्यमा केही समय लगाएको थियो । पाँचौँ विकेट लिँदा जिसनले आठ ओभरमा केवल १५ रन खर्चिएका थिए ।

नवौँ विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगरलाई गुमाएको थियो । उनी ५१ रन बनाउँदै आउट भएका थिए । उनले ७६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले आफ्नो बलमा आफैले क्याच लिएका थिए । अमिर हसनले लिएको यो दोस्रो विकेट थियो । उत्तम आउट हुँदा नेपालले ३९.५ ओभरमा एक सय ३५ रन बनाएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपाली टोलीले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ । प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ ।

यू—१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीका रुपमा लिइएको छ । यू-१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदैछ ।

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै यू- १९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू—१९ एसिया कपमा छनोट भएका थिए ।

यसैगरी नेपाली टोलीले यूएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू- १९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले अन्तिम विकेटका रुपमा आकाश चन्दलाई पाँच रनमा गुमाएको थियो । उनलाई पनि जिसनले नै बोल्ड गरेका थिए । सुवाष भण्डारी आठ रनमा अविजित रहेका थिए ।

Published Date: 08 December 2023






ताजा
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता