जनताले फ्याँकेको राजतन्त्र फेरि आउँदैन: केपी ओली

जनताले फ्याँकेको राजतन्त्र फेरि आउँदैन: केपी ओली : Icon Khabar

काठमाडौँ, मंसिर ८ । एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी गरे ।

पार्टी मुख्यालय च्यासलमा शुक्रबार राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले कतिपय देशहरुले विभिन्न सम्झौताका कारण राजतन्त्र मानेको भए पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसाबले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरे । एउटा मान्छेको छोरो जन्मिँदै राष्ट्र प्रमुख हुन जन्मिने कुरा चेतना नभएका मुर्खहरुले मात्रै गर्ने ओलीको भनाइ थियो ।

‘कि त चेतना नै नभएका मुर्खहरुले राजतन्त्र मान्छन् । एउटा मान्छेको छोरा, जन्मिदै राष्ट्रप्रमुख हुन नन्मिन्छ । लाटो जन्मिन्छ कि गजडी जन्मिन्छ कि । ड्रगिष्ट भएर जन्मिन्छ कि । कस्तो भएर जन्मिन्छ ? लफंगा भएर जन्मिन्छ कि ? थाहा छैन,’ उनले भने, ‘जन्मिदै राजा हुने रु त्यो कुरालाई पनि मान्छु, त्यही हुनुपर्छ भन्ने कठैबरी ! नागरिक सर्वोच्चता स्वीकार नगर्ने । देशभरिका जनतामा सार्वभौमसत्ता भनेर मान्न नसक्ने । एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने । त्यो चेतना, चेतना हो र । त्यो त मूर्खता हो नि !’

उनले बिहीबार दुर्गा प्रसाईंको नेतृत्वको काठमाडौंको बल्खुमा भएको प्रदर्शनप्रति संकेत गर्दै एउटा मरेको प्रेतको पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही मानिस लागेको बताए ।

अध्यक्ष ओलीले बल्खुमा बिहीबार भएको प्रदर्शनमा ५/७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताए । कुनै जग नभएकाले वर्तमान सरकार माग, नारा के हो ? केही पनि थाहा नभएकोहरुको प्रदर्शनबाट पनि थर्कमान भएको उनको टिप्पणी थियो । अध्यक्ष ओलीले जनतालाई निराश हुन नदिने काम एमालेले गर्नुपर्ने भएकाले त्यस काममा लाग्न पनि युवा संघ, नेपाललाई सचेत गराए ।

ओलीले युवा संघको प्रदर्शनलाई भने देशलाई संकटबाट जोगाउनका लागि भएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 November 2023
Website | + posts