फरैनाहरू राजनीतिको अग्रभागमा उभिएर संघर्ष गर्न आवश्यक छ: डा. पुष्पराज पन्त

फरैनाहरू राजनीतिको अग्रभागमा उभिएर संघर्ष गर्न आवश्यक छ: डा. पुष्पराज पन्त : Icon Khabar

काठमाडाैं, कार्तिक ३० । केही समय अगाडि नेपाल पुगेको अवसरमा सङ्गीतकार सन्तोष श्रेष्ठसँग भेटघाट भयो । भेटमा उहाँले लेख्नुभएको फरैना उपन्यास प्राप्त भएको थियो । उक्त उपन्यास मैले आफ्नो लण्डन यात्राको हवाई उडानमा पढिसकेँ । उपन्यास पढिसकेपछि फरैनाबारे आफूलाई लागेका केही कुरा संक्षेपमा लेख्दैछु ।

पहिला मैले सन्तोष श्रेष्ठलाई एक सङ्गीतकार र गायकको रूपमा सुन्दै र चिन्दै आएको थिएँ । केही वर्षअघि उहाँले मेरा दुईवटा गीतलाई संगीतबद्ध गर्नुभएको थियोे । विश्वभर कोभिड -१९ को महामारीसँगै धेरै कुरामा परिवर्तन भयो । त्यसयता समयनैं अलि फरक ढङ्गले चल्न थालेको छ भन्दा फरक नपर्ला । त्यस समय मानिसहरूले आफ्नो पेशा र समयसारिणीमा व्यापक परिमार्जन गर्नुपरेको थियो ।

कतिपयको यात्रा स्थगित भयो भने कतिपयलाई महामारीका समयमा आ-आफ्नो स्थायी बसोबासको ठेगानामा फर्केर माता-पिता र परिवारसँगै बस्ने अवसर पनि जुरेको थियो । सन्तोष श्रेष्ठका अनुसार उहाँ त्यस समय लामो अवधिका लागी दाङमै बस्नु भयो र केही सिर्जनशील काम गर्नु पर्छ भन्ने प्रेरणाका साथ यो उपन्यास लेख्नु भएको रहेछ । जुन कुरा उहाँले सार्वजनिक रूपमा भन्नुभएको छ ।

उपन्यासको शुरूवात समग्र जीवनदर्शनबाट गरिए पनि क्रमैसँग अगाडि बढ्दै-बढ्दै दाङ जिल्लाको बबई नदीआसपासको ग्रामीण क्षेत्रमा प्रवेश गर्छ । छिट्टै यसका पात्रहरू उजागर हुँदै-हुँदै कलात्मक ढङ्गले एक किशोरावस्थाकी कमलरीमा केन्द्रित हुन्छ । उपन्यासमा त्यहाँको परिवेशलाइ पूर्ण सौन्दर्यात्मक ढङ्गले सरल भाषामा प्रस्तुत गरिएको छ ।

उपन्यास पढ्दै जाँदा मनमा एउटा सुन्दर चलचित्र हेर्दाको जस्तै आनन्द आउँछ । अझ त्यहाँ प्रयुक्त गीतहरूले यस आभाषलाई थप सशक्त बनाउँछन् । पात्रहरूको संवादलाई स्थानीय थारू भाषामैं (अनुवादसहित) लेखिएकोले भाषा जीवन्त हुन्छ अनि पात्रहरू पनि जीवन्त हुन्छन् । फरैना उपन्यास पढ्दा पाठकलाई दाङकैं सुगन्ध पनि मिल्छ । आफैँ दाङमा घुमिरहेको आभास हुन्छ ।

फरैना उपन्यासको कथा हाम्रै समाजको हो । हाम्रै पुस्ताले देखेको, भोगेको कथा हो । म जस्तै सबै पाठकलाई उपन्यासको शुरूदेखि अन्तसम्म धेरै फरैनाहरू बाल्यावस्थाकी फरैना, कमलरी फरैना, लडाकु फरैना, नेता फरैना, र राष्ट्रपति फरैना, पाठकलाई आफैँले देखेझैँ, भेटेझैँ लाग्दो हो, प्रधानमन्त्री फरैनाबाहेक । हाम्रै जीवनकालमा नेपालले फरैना प्रधानमन्त्री पाओस् । किनभने नेपालमा पहिलो महिला प्रधानमन्त्री हुन बाँकीनै छ । त्यो पनि एउटा भूईमान्छे भएको हेर्ने धोको लेखकलाई पनि छ ।

पात्रलाई एक अवोध, आवाजविहीन, समाजविहीन र राज्यविहीनको अवस्थाबाट राष्ट्रप्रमुखसम्म बनाउँदा उपन्यासकार सन्तोष श्रेष्ठले कृत्रिमताको आभाष हुन दिएका छैनन् । बरू कुनै पनि पात्रमा इच्छाशक्ति भएमा असम्भव केही पनि छैन भन्ने सकारात्मक सन्देश सशक्त तरिकाले दिएका छन् ।

संगीतमा हर्मोनियम जस्तै लेखनमा कलम बलियोसँग समाएका छन् । यो उपन्यास पढ्दै जाँदा अनुभव गर्न सकिन्छ । इतिहासमा र वर्तमानमा पनि विश्वमा यस्ता थुप्रै फरैनाहरू भेटिन्छन् । नेपाल अझ धेरै फरैनाहरूको आवश्यकता छ । जसरी यस उपन्यासमा फरैना संघर्ष गरेकी छिन् त्यसैगरी सम्पूर्ण फरैनाहरू राजनीतिको अग्रभागमा उभिएर संघर्ष गर्न आवश्यक छ ।

जीवनमा अनेक संघर्ष पश्चात कुनै व्यक्तिले जब कुनै पेशा वा व्यवसायमा आफ्नो पहिचान बनाइसक्छ त्यसपछि अर्को पहिचान बनाउनु सजिलो हुँदैन । त्यसमा पनि थोरै संगीतकारहरू लेखक हुन्छन् ।

उपन्यासकार त अझ थोरै मात्रै हुन्छन् । उपन्यास जटिल विधा हो । मैले संगीतकार सन्तोष श्रेष्ठको फरैना उपन्यास पढिसकेपछि आफ्नो कौतुहलता मेटाउन यस विषयमा खोजी गर्दा विश्वमै थोरै सङ्ख्यामा संगीतकारले उपन्यास लेखेको पाएँ । सम्भवतः संगीतकार सन्तोष श्रेष्ठ एशियामा महादेशमा त उपन्यास पनि लेख्ने एक्ला वा पहिलो संगीतकार होलान् कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 November 2023
Website | + posts
ताजा
सरस्वती माताको स्तुतिमा तयार गरिएको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक
स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम दिन नसकको अवस्थामा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए राजीनामा
नारायणकाजी श्रेष्ठले दिए राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा
टी २० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग पराजित


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा सुरेन्द्र तुबन्जा श्रेष्ठ निर्विरोध