साल्ट ट्रेडिङले खुद्रा पसलेलाई बिक्री गर्ने चिनीको ‘कोटा’ १० बोराबाट २० बोरा पुर्यायो

साल्ट ट्रेडिङले खुद्रा पसलेलाई बिक्री गर्ने चिनीको ‘कोटा’ १० बोराबाट २० बोरा पुर्यायो : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौँ, कार्तिक २३ । साल्ट ट्रेडिङ कर्पाेरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ।

कर्पाेरेसनले गत मंगलबारदेखि उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पुर्‍याएको हो। प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ। कर्पाेरेसनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पाेरेसनबाट लगिसकेका छन्।

उनले भने, ‘काठमाडौं उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पाेरेसनबाट चिनी लिन सक्छन्।’ उनका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एक सय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो। कर्पाेरेसनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ।

सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पाेरेसनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो। दसैं, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ। तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैं चिनीको समस्या भोग्दै आउने गर्दछन्।

सरकारले कर्पाेरेसनलाई भारतसँग जिटुजीमार्फत् १० हजार मेक्ट्रिक टन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो। तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ। कर्पाेरेसनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 November 2023
Website | + posts