गाजामा सहयोग रोक्नु ‘अपराध’ हुन सक्छ : आईसीसी

गाजामा सहयोग रोक्नु ‘अपराध’ हुन सक्छ : आईसीसी : Icon Khabar

कायरो, कात्तिक १३ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिएको छ ।

“जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध उत्पन्न गर्नु अदालतको क्षेत्राधिकारभित्र अपराध हुनसक्छ”, कायरोमा पत्रकारहरूसँग करिम खानले भने ।

उनले इजिप्टको रफाह क्रसिङको भ्रमण गरेपछि सो कुरा बताएको हो । उनले अत्यावश्यक सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको बताए ।

“मैले मानवीय सहयोगसहित भरिएका ट्रकहरू त्यहाँ रोकिएको देखेँ जहाँ कसैलाई त्यो सहयोग आवश्यक थिएन, इजिप्टमा रोकिएको थियो, रफाहमा रोकिएको थियो”, उनले भने , “यी आपूर्ति गाजाका नागरिकहरूलाई कुनै ढिलाइ नगरी उपलब्ध गराउनुपर्छ ।”

हाल हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवेश गराउने रफाह एउटा मात्र प्रवेश बिन्दु हो । हमास नियन्त्रित उक्त क्षेत्रले पूर्ण घेराबन्दी र इजरायली बमबारीको सामना गरिरहेको छ ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले सीमा पार गरेर गरेको हमलापछि इजरायलले गाजालाई घेराबन्दी गरेको छ र ठूलो मात्रामा बमबारी सुरु गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने हमासले दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

इजरायलले गरेको जवाफी हमलामा अहिलेसम्म आठ हजारभन्दा बढी मानिस मारिएको र तीमध्ये आधाजति बालबालिका रहेको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयले बताएको छ ।

अक्टोबर २१ मा रफाह क्रसिङमार्फत सीमित सहयोग सामग्री वितरण सुरु भएको थियो र अहिलेसम्म एक सय १७ ट्रक रफाह क्रसिङबाट गाजा प्रवेश गरेका छन् । घेराबन्दी हुनुभन्दा पहिला सहयोग सामग्री र अन्य सामग्री लिएर करिब पाँच सय ट्रक प्रत्येक दिन गाजामा प्रवेश गर्थे ।

गाजामा सर्वसाधारणलाई आधारभूत खाद्यान्न र औषधि सुनिश्चित गर्नका लागि इजरायलले बिना कुनै ढिलाइ ठोस प्रयास गर्नुपर्ने आफूले इजरायललाई स्पष्टरूपमा भन्न चाहेको खानले बताए ।

आइतबार संयुक्त राष्ट्रसङ्घले प्यालेस्टिनी शरणार्थीका लागि उसको एजेन्सी युएनआरडब्लुएले गाजामा सञ्चालन गरेको खाद्यान्न सहायता केन्द्रहरूमा लुटपाट भएपछि सार्वजनिक व्यवस्था बिग्रन सक्ने चेतावनी दिएको थियो ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मृतकहरूको सङ्ख्या बढ्दै गएको र आवश्यक खाद्यान्न, पानी, औषधि र आश्रयको आपूर्ति कम हुँदै गएकाले गाजा क्षेत्रको अवस्था प्रत्येक घन्टा भयावह हुँदै गएको बताए ।

इजरायलीले प्यालेस्टिनी क्षेत्र वा प्यालेस्टिनीले इजराइली क्षेत्रमा गरेको जुनसुकै अपराधको पनि आफ्नो कार्यालयमा अनुसन्धान भइरहेको खानले बताए ।

“यसमा गाजा र पश्चिम किनारमा भएका हालका घटना सामेल छन्”, उनले भने , “सन् १९६७ देखि इजराइलले कब्जामा लिएको क्षेत्रमा प्यालेस्टिनी नागरिकहरूविरुद्ध त्यहाँ बस्नेहरूले आक्रमण गरेका घटनाको सङ्ख्या बढ्दै गएको रिपोर्टले म अत्यन्त चिन्तित छु ।”

खानले बन्धक बनाउनु जेनेभा महासन्धिको उल्लङ्घन भएकोमा पनि जोड दिए । “हमासले इजरायलबाट बन्धक बनाएका सबैलाई तत्काल रिहा गर्न र परिवारसँग उनीहरूको सुरक्षित फिर्तीका लागि आग्रह गर्दछु”, उनले भने , “हमाससँगको युद्धमा इजराइलको नैतिक दायित्व मात्र नभएर युद्धका कानुनहरूको पालना गर्ने पनि दायित्व छ, यो नियम इजरायलमा अन्धाधुन्ध रकेट हमला गर्ने हमासमा पनि समानरूपमा लागू हुन्छ ।” रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 October 2023
Website | + posts