भक्तपुर, भदौ १९ । कला र संस्कृतिको नगरीको रुपमा परिचित भक्तपुरमा भदौ १६ गतेदेखि गुन्हीपुन्ही सापारु २०८० मा प्रदर्शन गरिने परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरुको मूल्यांकन जारी छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुरको दत्तात्रय, नासमना र भोलाछेँमा उक्त विधाहरुको मूल्यांकन हुँदै आइरहेको छ । भक्तपुर नगरपालिकाले हरेक वर्ष परम्परागत तथा आधुनिक विधाहरुको मूल्यांकन गरिँदै आएको छ ।
भदौ १६ गतेदेखि २० गतेसम्म हुने प्रदर्शनीमा फाकंदली, गाइँचा, लुसी, देवी, भैल, हुला, लाहुरे, दैत्य, भालु, नगाँचा, हनुमान, साँयसमिचा, गिती नाटक, ध्याचु, मधु, कवांचा, जंगली, झ्याउरी, ख्या, लाखे, माक, कलाली, खिचा, मे प्याखँ, म्हेखा, ख्याल, नगाँचा प्याखँ (नाच) आदि प्रदर्शनी हुनेछ ।
भक्तपुर नगरपालिकाले गुन्हीपुन्ही सापारु पर्वमा प्रस्तुत गरिने घिन्ताङघिसी तथा परम्परागत एवम् आधुनिक विधाका सांस्कृतिक प्रस्तुतीहरुको मूल्यांकन गरी उत्कृष्ट समूह र कलाकारहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरेको छ ।
जसअन्तर्गत देवी प्याखँ, भैल प्याखंमा प्रथम हुनेलाई रु. ४० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई ३० हजार र सान्त्वना तथा सहभागीलाई २० हजार नगद पुरस्कारको बन्दोबस्त गरेको छ ।
माक प्याखं, गाइँचा प्याखं, लुसी प्याखं, फाकंदली प्याखं, हुला प्याखंमा प्रथम हुनेलाई २३ हजार, द्वितीय हुनेलाई १७ हजार, तृतीय हुनेलाई १३ हजार र सान्त्वनालाई ९ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ ।
त्यस्तै नागाचा प्याखँ, लाखे प्याखँ, नटुवाचा (मथु) प्याखँ, कलाँली प्याखँ, भालु प्याखँ, जंगली प्याखँमा प्रथम हुनेलाई रु. १७ हजार, द्वितीय हुनेलाई रु. १४ हजार, तृतीय हुनेलाई रु. १० हजार र सान्त्वनालाई रु. ७ हजारको व्यवस्था गरेको छ ।
त्यस्तै नाटक÷गीति नाटक र ख्याल विधाअन्तर्गत प्रथम हुने टोलीलाई रु. २२ हजार, द्वितीय हुनेलाई रु. १७ हजार, तृतीय हुनेलाई रु. १३ हजार र सान्त्वनालाई ११ हजार नगद पुरस्कार व्यवस्था गरेको छ ।
सोहीअन्तर्गत खिचा प्याखँ, ख्या प्याखँ र कवांचा प्याखँमा प्रथम हुनेलाई रु. १३ हजार, द्वितीयलाई ११ हजार, तृतीयलाई ९ हजार र सान्त्वनालाई रु. ६ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ ।
विशेष पुरस्कारअन्तर्गत घिन्ताङघिसीमा प्रथम भएकोलाई रु. २२ हजार, द्वितीय हुनेलाई रु. १७ हजार, तृतीय हुनेलाई रु. १२ हजार र दुईवटा सान्त्वनालाई रु. १० हजार नगद पुरस्कार व्यवस्था गरेको छ ।
त्यस्तै झ्यारे प्याखँमा प्रथम हुनेलाई रु. ११ हजार, द्वितीयलाई ९ हजार र तृतीय हुनेलाई रु. ७ हजार नगद पुरस्कार व्यवस्था गरेको छ ।
विशेषपुरस्कारअन्तर्गत हनुमान प्याखँ, म्हेखा प्याखँ, किजापुजा प्याखँ, कपाँय् फेनेगु प्याखँ, सलाँ प्याखँ, ङा प्याखँ, गरुड प्याखँ, दैत्य प्याखँ र झ्याझ्या प्याखँमा प्रथम हुनेलाई रु. १३ हजार र द्वितीय हुनेलाई रु. ११ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ ।
घिन्ताङघिसी, आधुनिक तथा परम्परागत विधामा उत्कृष्ट महिला कलाकारलाई रु. ५ हजार, पुरुष कलाकारलाई रु. ५ हजार, बाल कलाकारलाई रु. ५ हजार, आधुनिक विधातर्फ उत्कृष्ट निर्देशकलाई रु. ५ हजार र ऐ.ऐ. उत्कृष्ट लेखकलाई रु. ५ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ ।
परम्परागत र आधुनिक सांस्कृतिक विधातर्फ पोशाक, अभिनय, ताल, बाजा, अनुशासन, कलाकार, गण, नगर परिक्रमा, समष्को परिपालनालगायत विभिन्न विषयमा ५ देखि २५ मिनेटसम्म समय दिएर नृत्यको मूल्यांकन गरी एक सय पूर्णांकमा सबैभन्दा बढी अंक ल्याउनेलाई पुरस्कृत गरिने व्यवस्था छ ।
Published Date: 05 September 2023