आठ वर्षपछि तातोपानी नाका सर्वसाधरणका लागि खुल्दै

आठ वर्षपछि तातोपानी नाका सर्वसाधरणका लागि खुल्दै : Icon Khabar

सिन्धुपाल्चोक, भदौ १५ । चीनसँगको उत्तरी सीमा नाका तातोपानी आज (शुक्रबार) देखि सर्वसाधरणका लागि खुल्ने भएको छ । भूकम्पको आठ वर्षपछि उत्तरी तातोपानी नाका आजदेखि सर्वसाधारणका लागि खुला गरिँदै छ । नाका खुल्ने खुशीमा मितेरी पुल र लिपिङ क्षेत्र झकिझकाउ बनाइएको छ ।

गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । ‘नेपालतर्फबाट गरिने सम्पूर्ण तयारी गरेका छौं’, उनले भने ।

विसं २०७२ को भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो । प्रजिअ न्यौपानेले यसअघि मानिस आवतजावत भने खुल्न नसकेको भन्दै शुक्रबारदेखि स्थानीयको आवागमन खुला गरिएको बताए । उनका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउने छन् ।

०७२ वैशाख १२ को भूकम्पले बन्द तातोपानी नाका ०७६ जेठ १५ मा आयातका लागि एकतर्फी र गत वैशाख १८ मा निर्यात खुलेको थियो । आठ वर्षपछि नेपाल र चीनका नागरिक आउजाउ गर्न पाउने हुँदा पर्वझैं वातावरण बनेकाले आवश्यक तयारीमा कस्सिएको अध्यागमन कार्यालय कोदारीका प्रतिनिधि तिलक मगरले बताए । ‘सीमावर्ती स्थानीय र नेपाली पर्यटकलाई आउजाउ गर्न आवश्यक कागजात तयारी अवस्थामा छन्, भूकम्पअघि प्रयोग भएका हरियो र वानडे दुवै किसिमका प्रवेश पास जारी गरिएको छ, जसमा सुरुमा दुई सय तीन जनाका लागि पास जारी भएको छ,’ मगरले भने ।

सीमाबाट ३० किमि क्षेत्रका स्थानीयलाई हरियो र अन्यले वानडे पास पाउने प्रावधान रहेको उनको भनाइ छ । नाकामा अत्याधुनिक मितेरी पुल र लार्चामा तातोपानी सुक्खा बन्दरगाहको भवन यसअघि चिनियाँ कम्पनीले बनाइ दिएका थिए । यीबाहेक अध्यागमन भवन, लिपिङ भन्सार यार्ड र सुरक्षा गेट भूकम्प एवं भोटेकोशी बाढीले जीर्ण बनाएको भवनमा चलाइएको थियो ।
Published Date: 01 September 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न