भारतले सिंगापुरलाई चामल दिने, नेपालबारे अझै अनिर्णीत

भारतले सिंगापुरलाई चामल दिने, नेपालबारे अझै अनिर्णीत : Icon Khabar

नयाँदिल्ली, भदौ १४ । भारतले चामल निकासीमा लगाएको प्रतिबन्धका बाबजुद सिंगापुरका लागि निर्यातको अनुमति दिएको छ । सिंगापुरले चामल निर्यात खुलाउन भारतलाई अनुरोध गर्दै आएको थियो । नेपालले पनि निर्यात खुलाउन आग्रह गरे पनि भारतले कुनै निर्णय गरेको छैन ।

दुई देशबीचको बलियो सम्बन्धलाई मध्यनजर गर्दै सिंगापुरलाई चामल निर्यात जारी राख्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ‘भारत र सिंगापुरबीच बलियो सम्बन्ध छ, दुवै देशको साझा हित र आर्थिकसहितको विशेष सम्बन्धलाई हेर्दै भारतले सिंगापुरको खाद्य आवश्यकता पूरा गर्न चामल निर्यातको निर्णय लिएको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले भनेका छन्, ‘त्यसको औपचारिक प्रक्रिया र आदेश छिट्टै पूरा गरिनेछ ।’

भारतले गत जुलाई २० मा एक आदेश जारी गर्दै गैरबासमती चामलको निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । चामलको खपत गर्ने विश्वभरिका देशलाई भारतको उक्त निर्णयले प्रभावित बनाएको छ । नेपालमा पनि आयात रोकिँदा चामलको मूल्य बढेपछि निर्यात खुलाउन भारतलाई आग्रह गरिएको छ । चाडबाडलाई लक्षित गर्दै नेपाल सरकारले पत्र पठाएर एक लाख मेट्रिक टन चामल तत्काल उपलब्ध गराउनसमेत भारत सरकारलाई अनुरोध गरिसकेको छ ।

गत साउन २० मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवादमा पनि चामल निर्यातको विषय उठेको थियो । प्रधानमन्त्री दाहालले नेपालको हकमा चामल निर्यातको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । तर, भारतले यसबारे कुनै निर्णय गरेको छैन ।

विश्वमा हुने कुल चामल निर्यातमा भारतको हिस्सेदारी ४० प्रतिशतभन्दा बढी छ । चामलको निर्यातमा भारतपछि थाइल्यान्डको १५, भियतनामको १४ र पाकिस्तानको साढे ६ प्रतिशत हिस्सा छ । भारतबाट हरेक वर्ष २ करोड मेट्रिक टनभन्दा बढी चामल निर्यात हुँदै आएको छ ।

देशभित्र चामलको मूल्य बढ्न थालेपछि भारतले गहुँका साथै चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो । गत महिना गैरबासमती सेतो चामलमा पूर्ण प्रतिबन्ध लगाएको भारतले यसै साताबाट बासमती चामलको निर्यातमा पनि कडाइ गरेको छ । भारत सरकारले २७ अगस्टबाट बासमती चामलको निर्यातमा कडाइ गर्ने निर्णय लिएको हो ।

पछिल्लो निर्णयअनुसार प्रतिटन एक लाख रुपैयाँभन्दा कम मूल्यको बासमती चामलको निर्यातमा रोक लगाइएको छ । त्यस्तै, उसिनेको चामलको निर्यातमा २० प्रतिशत ड्युटी ट्याक्स लगाइएको छ । गैरबासमती चामलको निर्यातमा पूर्ण रोक तथा बासमती र उसिनेको चामलको निर्यातमा सर्त र थप करले विश्व बजारमा चामलको मूल्यमा थप अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ ।

-साभार कान्तिपुर दैनिक

Published Date: 31 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न