भारतले सिंगापुरलाई चामल दिने, नेपालबारे अझै अनिर्णीत

भारतले सिंगापुरलाई चामल दिने, नेपालबारे अझै अनिर्णीत : Icon Khabar

नयाँदिल्ली, भदौ १४ । भारतले चामल निकासीमा लगाएको प्रतिबन्धका बाबजुद सिंगापुरका लागि निर्यातको अनुमति दिएको छ । सिंगापुरले चामल निर्यात खुलाउन भारतलाई अनुरोध गर्दै आएको थियो । नेपालले पनि निर्यात खुलाउन आग्रह गरे पनि भारतले कुनै निर्णय गरेको छैन ।

दुई देशबीचको बलियो सम्बन्धलाई मध्यनजर गर्दै सिंगापुरलाई चामल निर्यात जारी राख्ने निर्णय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ‘भारत र सिंगापुरबीच बलियो सम्बन्ध छ, दुवै देशको साझा हित र आर्थिकसहितको विशेष सम्बन्धलाई हेर्दै भारतले सिंगापुरको खाद्य आवश्यकता पूरा गर्न चामल निर्यातको निर्णय लिएको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बागचीले भनेका छन्, ‘त्यसको औपचारिक प्रक्रिया र आदेश छिट्टै पूरा गरिनेछ ।’

भारतले गत जुलाई २० मा एक आदेश जारी गर्दै गैरबासमती चामलको निर्यातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो । चामलको खपत गर्ने विश्वभरिका देशलाई भारतको उक्त निर्णयले प्रभावित बनाएको छ । नेपालमा पनि आयात रोकिँदा चामलको मूल्य बढेपछि निर्यात खुलाउन भारतलाई आग्रह गरिएको छ । चाडबाडलाई लक्षित गर्दै नेपाल सरकारले पत्र पठाएर एक लाख मेट्रिक टन चामल तत्काल उपलब्ध गराउनसमेत भारत सरकारलाई अनुरोध गरिसकेको छ ।

गत साउन २० मा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवादमा पनि चामल निर्यातको विषय उठेको थियो । प्रधानमन्त्री दाहालले नेपालको हकमा चामल निर्यातको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए । तर, भारतले यसबारे कुनै निर्णय गरेको छैन ।

विश्वमा हुने कुल चामल निर्यातमा भारतको हिस्सेदारी ४० प्रतिशतभन्दा बढी छ । चामलको निर्यातमा भारतपछि थाइल्यान्डको १५, भियतनामको १४ र पाकिस्तानको साढे ६ प्रतिशत हिस्सा छ । भारतबाट हरेक वर्ष २ करोड मेट्रिक टनभन्दा बढी चामल निर्यात हुँदै आएको छ ।

देशभित्र चामलको मूल्य बढ्न थालेपछि भारतले गहुँका साथै चामलको निर्यातमा प्रतिबन्ध लगाएको हो । गत महिना गैरबासमती सेतो चामलमा पूर्ण प्रतिबन्ध लगाएको भारतले यसै साताबाट बासमती चामलको निर्यातमा पनि कडाइ गरेको छ । भारत सरकारले २७ अगस्टबाट बासमती चामलको निर्यातमा कडाइ गर्ने निर्णय लिएको हो ।

पछिल्लो निर्णयअनुसार प्रतिटन एक लाख रुपैयाँभन्दा कम मूल्यको बासमती चामलको निर्यातमा रोक लगाइएको छ । त्यस्तै, उसिनेको चामलको निर्यातमा २० प्रतिशत ड्युटी ट्याक्स लगाइएको छ । गैरबासमती चामलको निर्यातमा पूर्ण रोक तथा बासमती र उसिनेको चामलको निर्यातमा सर्त र थप करले विश्व बजारमा चामलको मूल्यमा थप अभाव र मूल्यवृद्धिको जोखिम बढेको छ ।

-साभार कान्तिपुर दैनिक

Published Date: 31 August 2023


















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक