सोनापुर मिनरल्सको आइपीओ वैदेशिक रोजगारीमा गएकाले आजसम्म भर्न पाउने, स्थानीयलाई थपियो समय

सोनापुर मिनरल्सको आइपीओ वैदेशिक रोजगारीमा गएकाले आजसम्म भर्न पाउने, स्थानीयलाई थपियो समय : Icon Khabar
काठमाडौं, भदौ ११। सोनापुर मिनरल्स एन्ड आयल लिमिडको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज भदौ ११ गते सोमबार कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । यता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले यस कम्पनीको आइपीओमा अब भदौ २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५ कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
त्यस्तै, फेस भ्याल्यू १०० रुपैयाँमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाको दरले १० लाख ७६ हजार २६८ कित्ता सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ७६ हजार २६८ कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ । क्रेडिट रेटिङ नेपालले सोनापुर मिनरल्सको आइपीओलाई केयर एनपी त्रिपल बी माइनस इस्यूआर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2023
Website | + posts