सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार : Icon Khabar

काठमाडौं, भदौ ५ । सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा पनि तयार भएको छ । मङ्गलबार बिहान सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सो उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (हिजो) बोलाएको सर्वदलीय बैठकमा सरकार सो प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन सहमत भएपछि एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे रहेको कार्य दललाई त्यसको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

सोही जिम्मेवारी अनुसार आफूहरूले त्यसको मस्यौदा तयार पारेको र अब केहीबेरपछि बस्ने सर्वदलीय बैठकमा पेस गर्न लागिएको माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले बताए।

‘‘हामीलाई दुई बजे आज राष्ट्रिय दलहरूको बैठक सम्माननीय प्रधानमन्त्रीजीले बोलाउनुभएको छ । त्यो बोलाउने बैठकमा हामीलाई त्यसको ड्राफ्ट कसरी बनाउने भनेर चाहिँ कुरा भएको थियो । हामीले त्यसलाई तयार गरेका छौँ ।,’’ प्रमुख सचेतक पाण्डेले भन्नुभयो, ‘‘हामी त्यो बैठकमा प्रस्तुत गर्छौँ । हामी तीन जना बसेर छलफल गरेर हामीलाई दिएको जिम्मेवारी अनुसार हामीले आफ्नो काम फत्ते गर्‍यौँ । हामीलाई त्यो बैठकमा प्रस्तुत गर्ने विषय वस्तुबारे ड्राफ्ट गर्न भनिएको थियो । त्यो हामीले पूरा गर्‍यौँ ।’’

प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै गत साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध हुँदै आएको थियो । हिजो सोमबार बसेको बैठकमा भने सत्तापक्ष सो समिति बनाउन सहमत भएपछि दलहरूले त्यसको मस्यौदा तयार पार्न कार्यदल नै गठन गरेका थिए । अब बस्ने सर्वदलीय बैठकले सो मस्यौदामाथि छलफल गरी सो समितिको कार्यादेश र संरचना टुङ्गो लगाएपछि संसद् बैठक सुचारु हुने नेताहरूले बताएका छन् ।

Published Date: 22 August 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय