भक्तपुर, भदौ २ । अहिले नेपालको अधिकांश ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । यसले बाल बच्चा , बुढापाका, जवान केही नभनी सबैलाई आफ्नो सिकार गरिरहेको अवस्थामा मेरो परिवार लगायत म पनि अछुट्टो भएन । यसले कहाँबाट, कसबाट साहारा लिएर यो फैलिन्छ भने थाहा नै हुदैन ।
यहि साउन २५ गते एकाएक छोराको आँखामा चिप्रा देखेर क्लिनिकमा जचाएर औषधि लगाई घरमै स्याहार गरिरहेको थिए । साउन २६ गते बिहान छोराको आँखा सुन्नेर आएको देख्दा मा पुरै आतिएर पुनः क्लिनिकमा सल्लाह लिन गए । त्यहाँबाट बरफले सेकिदिए सन्चो हुन्छ भनेपछी सोहि अनुसार गरिदिए नभन्दै केही समयमै सुनेको आँखा कम भयो ।
साउन २७ गते शनिवारका दिन एक कार्यक्रममा सहभागि हुन म हतारमा थिए । छोराको आँखामा औषधी हाली हत्तपत्त म हिडिहाले । म पुगेको केही समयमै मेरो आँखामा केही पसे जस्तो, कहिले घोचे जस्तो भयो । चिसो पानीले आँखामा छ्यापे केही राहत मिले जस्तो भयो । फेरि त्यस्तै हुन थाल्यो । कार्यक्रम अवधिभर यो क्रम चार, पाँच पटक भयो होला।
कार्यक्रम सकेपश्चात घर पुगे। त्यसपछि आँखा चिलाउने क्रम बढ्दै गयो। ऐना हेरे आँखा त रातो रातो हुन थाल्यो । केही नसोच्दै क्लिनिकतिर कुदिहाले । औषधि लिंदै डाक्टरसँग सल्लाह लिए, “अरुलाई नसार्न के गर्न पर्ला डाक्टर साब ?” उहाँले भनुभयो,” यो रोगले अहिले महामारिको रुप फैलिदैछ । यसलाई Conjunctivitis भनिन्छ।
रोगिको आँखाबाट निस्केको आँसु, चिप्रा अरु मानिसले छोएर आँखामा छुदा यो सर्ने रहेछ । यो कसैले हेर्दैमा नसर्ने हो छोइहालेपनी साबुन पानीले हात धोएपछि यो सर्दैन । घरमा गएर छुट्टै कोठाको कुनातिर ओछ्यान लगाए बाल बच्चा नआउने गरि चिन्ह लगाए ताकी कोहि आएर कुनै पनि सामान नछोउन।
भोलिपल्ट त मेरो दुबै आँखा रातो न रातो रगतको गोला जस्तो दुबै आँखा निस्केला जस्तो भयो । छुँदा दुख्ने, आँसु बगिरहने , चिप्राले गर्दा बाहिरी दृश्य नै धमिलो भएको जस्तो हुनथाल्यो । यो क्रम झनझन बल्झिन्दै गयो । हात र आँखाको सम्बन्ध यति गहिरो भयो कि हातलाई आँखाबाट निकाल्ननै मुस्किल भयो किनकि आँसु र चिप्रालाई सफा गरिरहनु परेको थियो।
संक्रमन भएको तेस्रो दिनमा टाउको दुख्ने आँखामा पिनका टुप्पोबाट घोचेजस्तै च्वास च्वास दुख्न थाल्यो। लाग्यो अबको दिनमा मेरो आँखाबाट दृश्य देखिन्दैन कि जस्तो । डाक्टरलाई फोन गरे मलाई यस्तो भयो त्यस्तो भइरहेको छ भनेर सबै वृतान्त सुनाए । उताबाट डाक्टरले यो रोग यस्तै हो पिर मानु पर्दैन बिस्तारै निको हुँदै जान्छ भनेर सल्लाह दिनुभयो र पुनः अर्को औषधि थपिदिनु भयो र टाउको दुखाईलाई सितामोल दिएर आश्वासन दिदै घर पठाउनु भयो । डाक्टको कुरा सुनेर टाउको को इशारा दिदै औषधि लिइ घर फर्के।
म माथी अर्को पनि पिर छ केहि गरि मेरो परिवारलाई यो रोग सर्यो भने के गर्ने ? समय समयमा परिवारसँग सोधपुछ गरिरहे । भोलिपल्ट देखि आँखालाई हल्का राहत मिलेको जसतो महशुस भयो। घरको झ्यालमा बसि बिस्तारै आँखा झिम्काउन्दै बाहिरी दृश्यलाई आँसु पुछ्दै नियाल्न थाले अब त केही हुन्छ कि भनी । आँखा पिनले घोछे जस्तै अब छैन, फुट्ला जस्तै गरि भएको टाउको दुखाई पनि कम भयो, बिस्तारै कालो चस्मा लगाउंदै घर वरपर हिडडुल गर्न थाले ।
अब त म हिरो छु कालो चस्मा लगाई बसिरहेको छु भित्री स्याउ भन्दा रातो आँखालाई लुकाउदै । मन मनै भन्दैछु यो त शत्रुलाई पनि नलागोस देवताले दिए जस्तै लाग्ने भए यो भाईरसनै खतम भएर जाउ भनेर सराप दिन मन लाग्छ । अझै कति दिन यो कालो चस्मा भित्र आँखालाई लुकाइ बस्नु पर्ने हो थाहा छैन । यो आफ्नो अनुभव लेख्दासम्म एक हप्ता भयो ।
अनुभव: दिल सुवाल
Published Date: 19 August 2023