भक्तपुर नपाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग राय–सुझाव संकलन

भक्तपुर नपाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग राय–सुझाव संकलन : Icon Khabar

भक्तपुर, जेठ १६ । भक्तपुर नगरपालिकाको आ.व. २०८०।८१ को बजेट तर्जुमासम्बन्धी राय–सुझाव संकलनको क्रममा आज भक्तपुर नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको भेला सम्पन्न भयो ।

भेलामा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले सामुदायिक विद्यालयका शिक्षकहरुलाई आवश्यक तालिम, विद्यालयहरुको आवश्यकताको आधारमा भौतिक सुधारका लागि आर्थिक सहयोग उपलब्ध गराउनुका साथै विद्यालय तथा कलेजहरुमा अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै २१ औं शताब्दीका योग्य नागरिक तयार गर्नेतर्फ जोड दिँदै आएको बताए ।

सरकारले सांसद विकास कोषको नाममा सांसदहरुलाई बजेट बाँड्दै विकासे कार्यकर्ता बनाउन खोजिएको बताउँदै उनले जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिए जनताको आधा समस्या समाधान हुने बताए ।

भक्तपुरको शिक्षा अहिले देशकै नमुना बनिरहेको सन्दर्भ जोड्दै उनले भक्तपुरका शिक्षकहरुले अरुको तुलनामा राम्रोसँग काम गरिरहेको बताए ।

भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले बजेट निर्माणका क्रममा १० वटै वडा कार्यालयहरुबाट सुझाव संकलन कार्य चालु रहेको बताउँदै भक्तपुरको सामुदायिक विद्यालयको स्तरोन्नति र शैक्षिक विकासको लागि सबैतिरबाट आएको सुझाव नगरपालिकाको साझा नीतिको रुपमा अगाडि बढाइने बताए ।

कार्यक्रममा सहभागी विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधिहरुले आ.व. २०८०।८१ को बजेटमा प्रधानाध्यापक भेलालाई निरन्तरता दिई क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने, स्वयम्सेवक शिक्षकको व्यवस्था गर्नुपर्ने, शिक्षक दरबन्दी सिर्जना गर्नुपर्ने, विद्यालयहरुमा आवश्यकताअनुसार भौतिक पूर्वाधारको विकास गर्नुपर्ने, विज्ञान र गणित विषयको प्रयोगशाला स्थापना, स्थानीय पाठ्यक्रमका विषयगत शिक्षकहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने, सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक भेदको अन्त्य गरिनुपर्ने, विद्यालयको भौतिक पूर्वाधारको अनुगमन, शिक्षकहरुलाई प्रोत्साहन गर्नुपर्नेलगायतका सुझावहरु दिएका थिए ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पनि नगर शिक्षा बारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 May 2023
Website | + posts