काठमाडौँ, जेठ १२ । कीर्तिपुर नगपालिकाको दक्षिण–पूर्वतिर एउटा हितिगाः छ । बाह्रमास कलकल निश्चल बगिरहने यस कलात्मक हितिगाःलाई जः सिंगाः भनिन्छ । यस हितिमा हामी सानो केटाकेटी छदै देखि नुहाउँदै, पानी पिउंदै हुर्कियौ । तर त्यो हितिमा पानी कसरी आउँदो रहेछ र कुन कालमा बनेको हो । हामीलाई ज्ञान थिएन । मलाई त झन् थिएन र धेरैलाई पनि थाहा रहेनछ । म एक कलाप्रेमी, पानी पिउने भन्दा बिभिन्न हितिका अद्भुत कलाकृति हेर्दै, यो कहिले बन्यो ? हितिको कथा के होला ?, यस हितिमा कोरिएका कलात्मक कलाको अर्थ के–के हुन् ?, अहिले अत्याधुनिक टेक्नोलोजीको युगमा मोबाइलको ब्याट्री दिनभरि चल्यो भने पनि दंग पर्दै स्मार्ट टेक्नोलोजी भन्छौ, त्यो बेला हाम्रो पूर्वजहरूले यस्तो कुन टेक्नोलोजी अपनाए, जुन आज १५००–२००० वर्षसम्म आउँदा पनि करिब उही अवस्थामा रहनु र निरन्तर अझै पानी बगिरहनु, कुन इन्जिनिरिंङ्ग थियो ? भन्ने जस्ता प्रश्नै प्रश्नले तृष्णा मेटिएन ।
आफ्नो जिज्ञासाको निकास खोज्दै खाली समयमा बिभिन्न हितिहरू, लाईब्रेरी, पुस्तक पसलहरू धाउन थाले, हितिका ऐतिहासिक स्रोत संकलन गर्न थाले । आर्टिकलहरू खोजी–खोजी पढ्न थाले । तर जः सिंगाः हितिबारे चाहिँ केही जानकारी पाइन । कीर्तिपुरकै केहि स्थानीय बासिन्दाहरूसंग जःसिंगाः हितिबारे सोध खोज गरे खासै उपलब्धी हात परेन । केहि प्रश्नको उत्तर भने आफ्नै आमाबाट पाएँ तर मेरो तृष्णा अझै मेटिएको थिएन । म अझै स्रोत खोज्न थाले । यसै क्रममा असार २८, २०७९ मंगलवारका दिन तिनवटा पुस्तक मेरो हात प¥यो ः छिर्का मिर्का, नेपालका लोकप्रिय लोककथा, र हिति प्रणाली । जुन मेरो लागी ट्रेजरर् भन्दा कम थिएन ।
जः सिंगाःलाई नेपाल भाषामा “जः” को अर्थ “प्रकाश (Ray)” हुन्छ भने, “सिं” को अर्थ काठ (Wood) बुझिन्छ । सामान्यतः हितिमंगः जोड्ने भागमा अग्राठका काठनै प्रयोग गरिएको हुन्छ । काठले बनेको हितिदुंमा ढुंगाको हितिमंगः विशेष तरिकाले मिलाइएको हुन्छ ताकी हितिदुं (पानी निकास हुने पाइपलाईन) बाट आएको पानी कतै नचुहिई हितिमंगःबाट झर्न सकोस र दिगो रहिरहोस । र “गाः” वा “गाल”को अर्थ “खाल्डो” हो । कलकल बग्ने पानी, कलात्मक हितिमंगः र वरिपरी सजाइएका आस्थाका धरोहरहरूले हितिगाः लाई हिति प्रणालीको सबैभन्दा आकर्षक भागका रूपमा मान्न सकिन्छ । यसरी खाल्डोमा हुने हितिलाई नेवाःहरू “गाः हिति” पनि भन्ने गर्छन ।
कीर्तिपुर एउटा प्राचिन बस्ति हो । यहाँ मुख्य तिनवटा परम्परागत बस्तिहरू छन् । कीर्तिपुर, पाँगा, नगाउँ, यी बस्तीहरू क्रमसः गोपालवंशी सभ्यताको जगमा लिच्छवीहरूले बिकास गरे । त्यसपछी मल्लहरूले शासनसत्ता सम्हाले । कीर्तिपुरलाई नियाल्दा वरपर कृषि र प्राकृतिक आधारलाई ध्यानमा राखी उच्च स्थानमा बस्ति बसालेको देखिन्छ । सुख्खायाममा पानीको समस्याको उचित व्यवस्थापनको लागी सायद त्यतिबेला हितिको बिकास भएको हुनुपर्छ ।
जः सिंगाःको हितिमंगःलाई नियालेर हेर्दा हितिमंगःको जिब्रो देखिंदैन तर अरू तिरको हितिमंगः हेर्दा जिब्रो नै कलात्मक देखिन्छ । यस्तो फरक कसरी ? खोज्दै जाँदा यो हिति लिच्छवीकालिन भएको देखियो । प्रा.सुदर्शनराज तिवारीका अनुसार, लिच्छविकालीन हितिमंगःमा मकर बनाउंदा मकरको जिब्रो राख्ने चलन थिएन । मध्य मल्लकालमा हितिहरू बनाउंदा जिब्रो राख्ने चलन चल्यो, मल्ल शासनको पछिल्लो कालमा राखेको जिब्रो अझ बढी कलात्मक बनाइयो । कतिपय हिति लिच्छविकालमै बनेका भए पनि पछिल्लो कालमा मर्मत गर्ने क्रममा जिब्रो सहितको हितिमंगः राखियो ।
जनश्रुती/जनबिश्वास
सूर्यको प्रकाश झैँ स्वच्छ र सफा पानी आउने हुनाले यस हितिको नाम जः सिंगाः रहन गयो । जनश्रुती अनुसारः बिहान सबेरै काग कराउनु भन्दा पहिलै (काग उठ्नु भन्दा पहिला) उठेर, कसैसंग नबोली जःसिंगाःमा गएर हितिको पानी सात पल्ट, सात दिनसम्म पिईयो भने गलगाँड जस्ता घांटीको रोग पनि निको हुने र त्यस्तै सात पल्ट, सात दिनसम्म टाउको नुहायो÷मुख धोयो भने मानसिक रोग समेत निको हुन्छ भन्ने जनबिश्वास रहेकोछ । तन्त्र साधना सिक्ने (तन्त्र साधनाको अन्तिम परिक्षाको दिन) यस हितिमा मध्य रात्रीमा (काग कराउनु÷काग उठ्नु भन्दा पहिलै) कसैसंग नबोली नुहाई दीप (चिहान)मा गयो भने उनको तन्त्र साधना सफल हुने पनि जनश्रुति रहिआएको छ । जसको प्रमाण स्वरूप गथांमुगःको रात अनुभव गर्न सकिन्छ । मेरो बिशेष आग्रहः यदि गथांमुगःको अवसरमा जःसिंगाः हिति जाँदा असामान्य केहि देख्नु वा अनुभव भयो भने केहि नबोली उल्टो दिशातिर फर्कि हिड्नु होला ।
यस हितिमा वर्षमा एकपल्ट असार महिना तिर पानीमा गन्ध आउँछ । कारण, एकपल्ट नागरानीलाई गरूडले टिपेर लिएर जाँदा झडपमा नागरानीको नाक चुडेर यस हितिमा खसेका हुनाले गन्ध (मासु कुहिएको जस्तो) आउने गर्छ ।
यस गन्धको किंवदन्ती यस प्रकार छ:
एकपल्ट टौदहको कर्कोटक नागले च्वः बा द्यो÷आदिनाथ÷आनान्दादी लोकेश्वर÷आर्यनाथ (रातो मच्छिन्द्रनाथ)ले नुहाएको उत्सव हेर्न जान साह्रै इच्छा गरे । चैत्र महिनाको पुर्णिमाको दिन, बौद्ध धर्ममा भगवानद्वारा पानी बर्साइने यो जात्रा निकै प्रसिद्ध छ । आफ्नो यात्रामा प्रस्थान गर्ने अगावै कर्कोटक नागले साधारण मानिसको रूपमा भेष बदलेर आफ्नी नागरानीलाई आफु जात्रामा गएको कुरो कसैलाई नभन्नु भनी सम्झाए । आफ्नी नागरानीलाई महलमै छाडेर नाग जात्रामा प्रस्थान गरे । लगतै एकजना साहु–महाजनको वस्त्र लगाई नाक चुच्चो भएको रहस्यमय व्यक्ति त्यहाँ आईपुगे । मानिसको भेष लिएर टौदह आएका ती रहस्यमय आगन्तुक गरूड थिए । गरूड र नागका बीच उहिल्यै देखी कुटिल सम्बन्ध थियो ।
गरूडले नागरानीलाई “नागराजा कहाँ गएका हुन्” भनेर सोधे । पहिले त नागरानीले उनका पति कहाँ गएका हुन् भन्नेबारे थाहा नभएको बताइन । तर गरूडले ढिपी गरेपछि उनले आफ्ना पति च्वःबा द्योको जात्रा हेर्न जानु भएको सत्य कुरा भनिदीइन् । कर्कोटक नागलाई भिडमा राम्ररी चिन्न सकिन्थ्यो । जात्रामा आएकाहरू मध्य भिडमा सबै भन्दा अग्लो देखिने सुन्दर मानवरूपी कर्कोटक नाग जात्रामा रमाउंदै थिए ।
मानव भेषधारी गरूड तुरून्तै जात्रामा पुगे । नागरानीले दिएको बेहोरा अनुसार गरूडले ठ्याक्कै एउटा अग्लो मानिसलाई समाते । गरूडले कर्कोटक नागलाई हेर्दै “बल्ल हात प¥यौ । मेरो ऋण नतिरी जात्रामा रमाइलो गर्दै हिड्ने?” भन्दै मानवरूपी कर्कोटक नागलाई त्याप्पई समायो । जात्रा हेर्न आउने अरू मानिसहरूले थाहा पाउलान भनेर त्यसो भनेका रहेछन । अनि नागको कानमा फुसफुसाउदै “तिमी मेरो आहारा हौ । आज त छोड्दिन ।” गरूडले भने । उनको भनाइमा कर्कोटक नागले अचम्म मानेनन् । उनलाई महसुस भयो, उनकी रानीले पक्कै पनि झुठो कुरा बोल्न सकिनन् । नागले गरूडसंग एउटा बिन्ति गरे– “मलाई आनान्दादी लोकेश्वरको पुरा जात्रा हेर्ने इच्छा छ । जात्रा सकिनासाथ तपाईको भोजनका लागि उपस्थित हुनेछु, यो मेरो बचन भयो ।” नाग गरूडबाट उम्कने अर्को कुनै उपाय देखेनन् । शक्तिशाली गरूडले कर्कोटक नागलाई समातीसकेका थिए । नाग पनि आफु जस्तै आनान्दादी लोकेश्वरको गहिरो भक्त भएको गरूडलाई थाहा पाए । उनले जात्रा सकिनासाथ् आफु गरूडको जिम्मामा आउने बचन–बाचा गरिसकेको हुनाले, गरूड आश्वस्त भए । नागको स्वभाव र अनुरोध अनुसार पक्कै पनि उनी समय मै आफ्नो बचन पूर्ण गर्नेछन भनि बिश्वस्त भए र नागलाई जात्रा हेर्न छाडी दिए ।
जात्रा पनि सकियो । नागले महलमा आएर आफ्नी पत्नीलाई आफू गरूडको शिकार भइसकेको बताए र जात्रा सकेर गरूडको आहारा हुने आफ्नो बचन गरेको पनि सुनाए । कर्कोटक नाग आफ्नी पत्नीसंग कत्ति पनि रिसाएनन, उनको यो अनौठो स्वभाव थियो । नागरानीले रोइ–बिलाप गरे, आफ्नो पतिले कसैलाई नभन्नु भनेको कुरा गरूडलाई भनेकोमा क्षमा मागे, आफुलाई छोडेर नजान कहयौ बिन्ति गरे, बेला–बेलामा गरूडमाथि रिसले चुर भई नागरानीले गरूडसंग लडेर आफ्नो पतिको बचन फिर्ता ल्याउने निश्चय पनि सुनाए तर कर्कोटक नागले आफुले बचन दिई सकेको भनी नागरानीको आँसु पुछी सम्झाए । अतः पत्नीसंग बिदा मागी आफ्नो प्रतिज्ञा पुरा गर्न कर्कोटकनाग गरूड कहाँ गए ।
अनायास कर्कोटक नागको सत्य बचनले गरूडको मनलाई जित्यो । नाग बचनका पक्का रहेछन भन्ने गरूडले मनमा अनुभूति गरे–“यस्तो इमान्दार तथा सत्यवादी नागलाई आफ्नो आहारा होइन बरू आनान्दादी लोकेश्वर आदिनाथको ठुलो उपहारबाट विभूषित गरिनु पर्दछ ।” भन्ने सोचले गरूडको मन फेरियो । उनले कर्कोटक नागप्रति करूणाको भाव प्रकट गरे । नागको सत्यताबाट खुसि भएर गरूडले नागलाई आफ्नो आहारा नबनाई आदर गरेर आदिनाथको गलाको हार बनाए र कर्कोटक तत्कालै आदिनाथमै लिन भइ गलाको हार बन्यो । आदिनाथको घाटीमा लगाइएको नागहारलाई त्यस बेला देखी नै “सत्यनाग” भनिन थाल्यो ।
असार महिना पनि शुरूभयो, यता नागरानी पछुताउन्दै कर्कोटक नागको वियोगमा यता–उता खोज्दै च्वः बा आइपुगिन । आदिनाथको गलामा आफ्नो लोग्ने नागहार भएको देखेपछी आदिनाथ सामु झन् बिलौना गर्न थालिन । आदिनाथले उसमाथी करूणा राखी बाह्र वर्षमा एकपटक मच्छिन्द्रनाथको जात्रामा एकचोटी लोग्नेसित भेटघाट गर्ने मौका दिने बचन दिए । तत्कालै नजिकै उभिरहेको गरूडलाई नागरानीले देखेपछी रिसले आगो भएर “मेरो लोग्ने फिर्ता देउ” भन्दै झम्टिन पुगिन । प्रतिकार स्वरूप गरूडले पनि नागरानीलाई टिपेर आकासमा उड्यो । कीर्तिपुरको आकाशमै दुबैको झडपमा नागरानीको नाक चुडेर जः सिंगाः मा खस्यो ।
द्वन्द्व गर्दा–गर्दै नक्खु खोला निर पुगेपछी नागरानीले गरूडको पाखुरामा टोकिन । पीडाले हात अलि फुकाउँदा नागरानी नक्खु खोलामा खसिन । नागरानीको ज्यान बच्यो र गरूड फर्कियो ।
भनिन्छ, बाह्र बर्षे मच्छिन्द्रनाथको जात्रामा नागरानी त्यस अवसरमा ठुलो आकाङ्गक्षाले नक्खु खोलामा लोग्नेको प्रतिक्षा गरिरहन्थे । उक्त दिन नदि सानो भए पनि ठुलो आवाजले बगिरहनाको कारण नागरानीको क्रन्दन हो ।
हितिको अर्थ
नेपाल भाषामा “यि” को सम्बन्ध “येंचु” अर्थात् सफा हुन्छ भने भोटबर्मेली भाषामा “ति” वा “डि” को अर्थ पानी (अथवा झोल) हुन्छ । पुराना अभिलेखहरूमा हितिभन्दा पहिले यिति लेखिने गरिएको थियो । तर छ–सात शताब्दी पछि मात्र हिति लेख्ने थालिनुले यस शब्दलाई सफा पानी उपलब्ध गराउने धाराको अर्थमा बुझिन्छ । हिति नेपाल भाषामा “हि” र “तिल” दुई शब्द मिलेर बनेको हो । “हि (हिलेगु)” शब्दले चलायमान÷फेरिरहने÷साट्ने अर्थ दिन्छ भने “तिल” शब्दको अर्थ भाँडो (चलन चल्तीको शब्द थल) हो । यी दुवै शब्दलाई जोड्दा चलायमान भाँडो भन्ने अर्थ लाग्छ । तर नेवाः संस्कृतिसँगै विकास भएको चलन चल्तीको भाषा ल्वहँ हितिलाई आधुनिकीकरण अनुसार ढुङ्गे धारा भन्ने चलन चल्यो । नेपाल भाषाको यो शब्दलाई नेपाली भाषामा सिधा परिवर्तन त गरियो तर यसको शाब्दिक अर्थलाई भने ख्याल गरिएन । लेखक पद्मसुन्दर जोशीका अनुसार, अंशुवर्मा लगायतका लिच्छवीकालिन शिलापत्रहरूमा हितिलाई प्रणाली भनेर सम्बोधन गरिएको छ । यो मात्र पानी झार्ने डुँड नभई आफैमा एउटा प्रणाली हो भन्ने प्रष्ट हुन्छ ।
हितिमंगः
हितिगाःको सबैभन्दा महत्वपूर्ण अंग हितिमंगः हो । पानी निस्कने यो ढुंगाको डुँडमा दाताको भावना अनुरूप बिभिन्न जलचर र स्थल्चर प्राणीहरूका आकृति कुँदिएका हुन्छन । प्रायः हितिमंगःमा गंगाको वाहन गोही कुँदिएको हुन्छ । गोहीलाई देवभाषामा मग्रत भनिन्छ र नेवारहरू यसलाई हितिमग्रत भन्थे, जुन अपभ्रंश भएर हितिमंगः भएको हो । हितिमंगःहरूमा कलात्मकता थप्न पानीसंग सम्बन्धित बिभिन्न जीवजन्तुका आकृतिहरू कुँदिएको पाइन्छ ।
हितिमंगःका कलाकृतिलाई यसको काम अनुसार चार भागमा छुट्टयाएको हुन्छ: – १. हिति म्वः, २. हिति धाः, ३. हिति पाता, र ४. हिति पुसा
१. हिति म्वः भन्नाले हितिमंगको टाउको हो । सामान्यतः यसमा मकर अर्थात् गोहीको चित्राकृति हुन्छ । कतिपय हितिमा अझ कलात्मक बनाउन बिभिन्न जलचरका साथै साँढेको टाउको पनि बनाएको हुन्छ ।
२. हिति धाः जहाँबाट हितिगाःमा पानी झर्छ । सामान्यतः यी हितिधाःहरूमा कुनै आकृति कोरिएको हुँदैन ।
३. हितिपाता हितिमंगःको दायाँ–बाँया भागलाई हितिपाता भिनिन्छ । यस ठाउँमा सामान्यतया मकरका हात र पुच्छर कोरिएका हुन्छन।
४. हितिपुसा अर्थात् हितिको बिर्कोका रूपमा हितिमंगःको बाहिर देखिने भागमा पानी बग्ने डुँडलाई छोप्न ढुंगाको बिर्को बनाइएको हुन्छ । यी बिर्काहरूमा पनि कुनै न कुनै जलचरको आकृति कुँदिएको हुन्छ । बढी देखिने यस्ता हितिपुसामा गोही वा भ्यागुता जस्ता आकृतिहरू कुँदिएका हुन्छन भने जःसिंगाः हितिमा नागआकारको आकृतिले छोपेको पाइन्छ । जुन हितिपुसा कर्कोटककी नागरानीको प्रतिक हो ।
यसबाहेक पनि हितिमंगःको शिर भागमा (भित्ताबाट हिति निस्कने ठाउँमाथिको भाग) मा आफ्नो धार्मिक जनविश्वास र समुदायको आस्था अनुसारका मूर्तिहरू सजाइएका हुन्छन । बिशेष गरी शिव, बुद्ध वा नारायणको मूर्ति राखिएको पाइन्छ ।
भगिरथ/यक्ष: मकर लगायत बिभिन्न आकृति कुँदिएको बडेमानको ढुंगाको हितिमंगः,हितिफुसमा देवीदेवताका मूर्तिहरू र हितिमंगः बनाउने सीप आजको पुस्ताका लागि एउटा सामान्य ढुंगामा कोरिएको कला मात्र हुन सक्छ तर तत्कालिन समयमा यो अत्यन्त चुनौतीपूर्ण, परिश्रमपूर्ण र कठिन कार्य थियो । त्यसैले आफ्नो वटुटोलको हिति निर्माण वापत अंशुवर्माले राज्यले लिने बिभिन्न करसमेत माफ गरिदिएका थिए । सत्ययुगमा भगिरथले आकाशबाट गंगालाई मृत्युलोकमा ल्याउँदा अत्यन्त कठिन कार्य भोग्नु परेको थियो । यसैको प्रतिबिम्ब स्वरूप प्रत्येक हितिगाःको हितिमंगःमुनि भगिरथको मूर्ति राखिएको हो ।
उभिएर शंख फुकीरहेका, शंख समातिरहेका वा यस्तै आकृतिका भगिरथहरू प्रत्येक हितिमंगः मुनि देख्न सकिन्छ । कतिपय हितिमा भागिरथको ठाउँमा पहलमान जस्ता देखिने बलशाली आकृति पनि देख्न पाइन्छ । यी आकृतिहरू पातालबासी बलशाली यक्षका हुन्। जमिनमुनिको पानी ल्याएर बगाइने हिति प्रणालीको निर्माण पातालका रक्षक यक्षको सहमतिबिना सम्भव नहुने अर्थमा यी हितिहरूमा यक्षलाई राखिएको हो । आफूमाथिको जमिनको भार बलपूर्वक थामी रहेको मुद्रामा राखिने यस्ता आकृतिहरूलाई पटे देवता पनि भन्ने गरिन्छ । प्रायः पुराना हितिहरूमा हितिमंगः मुनि यक्ष राखिएको पाइन्छ भने नयाँ हितिहरूमा भगिरथ । यस्तै प्रस्तरका यक्ष भाजंगाः स्थित विष्णुदेवी मन्दिरको गर्भगृहमा विष्णुदेवीको अमूर्त मूर्तिसंगै पनि देख्न सकिन्छ ।
– लेखक: निरज मान सिंह
Published Date: 26 May 2023निरज मान सिंह
-
निरज मान सिंह#molongui-disabled-link
-
निरज मान सिंह#molongui-disabled-link