गृहमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूत चेन सोङको शिष्टाचार भेट

गृहमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूत चेन सोङको शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, वैशाख २५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सोमबार गृह मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीनबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नभएको बताए । श्रेष्ठले नेपालको भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सदैव प्रतिबद्ध रहेको दोहोर्‍याए ।

सो अवसरमा श्रेष्ठले चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई २१ वटा ड्रोन सहयोग गर्ने घोषणा गरेकोमा राजदूत चेनलाई धन्यवाद दिनुभयो । उनले छिट्टै ड्रोन नेपाल पठाउने व्यवस्था मिलाइने बताए । उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने पनि बताए ।

उपप्रधानमन्त्री श्रेष्ठका अनुसार दुई देशको सिमाना जोडिएका जिल्लामा नियमित भेटघाट हुनुपर्ने बताए । सीमा क्षेत्रमा काम गर्ने दुई देशका अधिकारीबीचको सम्पर्क र समन्वयलाई तिव्रता दिनुपर्ने उनको धारणा थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले विगतमा सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारीले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पास उपलब्ध गराएको र यस व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाको दैनिकी सहज भएको बताए । उनले चिनियाँ राजदूतलाई व्यवस्था मिलाउन पहल गर्न आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले तातोपानी, रसुवा र हिल्सा नाका पूर्णरुपमा सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै थप नाका छिट्टै सञ्चालनमा ल्याउन पहल गर्न राजदूत चेनलाई आग्रह गरे । श्रेष्ठले बझाङको साइपाल, दार्चुलाको तिङ्कर, गोरखाको रुइला र मुगुमा पनि व्यापारिक नाका खोल्न पहल गर्न आग्रह गरे ।

जवाफमा चिनियाँ राजदूत चेनले नेपालको सिफारिसअनुसार आफूले पहल गर्ने आश्वासन दिए । उनले सीमा क्षेत्रका अधिकारीले सम्पर्कलाई तिव्रता दिई समानान्तर बैठक बसाउनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको धारणामा आफू पनि सहमत रहेको बताए ।

राजदूत चेनले एक चीन नीतिलाई सदैव सहयोग गरेकोमा नेपाललाई धन्यवाद दिए । उनले सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछिका उच्चस्तरीय भ्रमणले नेपाल–चीन सम्बन्धलाई उचाइमा पुर्याएको बताए ।

नेपाली भूमिलाई चिनियाँ विरोधी गतिविधिका लागि प्रयोग हुन नदिन र नेपालमा चिनियाँ लगानी र सम्पत्तिको संरक्षणमा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सोङले यसलाई निरन्तरता दिन आफू आशावादी रहेको बताए ।

चेनले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानुनी सहायता सम्झौतालाई कार्यान्वयन गर्न आवश्यक समन्वय गर्न आग्रह गरे । उनले नेपाल प्रहरीलाई सहयोग गर्न चीनको तिब्बत स्वायत्त क्षेत्रले घोषणा गरेका २१ वटा ड्रोन तत्काल हस्तान्तरण गर्ने व्यवस्था मिलाउन पनि आग्रह गरे ।

केही विषय र बिषयमा थप छलफल गर्न आवश्यकता अनुसार बैठक जारी राख्ने प्रतिबद्धताका साथ बैठक सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 May 2023
Website | + posts