स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिनुपर्ने

स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिनुपर्ने : Icon Khabar

भक्तपुर, वैशाख २०। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठसहितको अनुगमन टोलीले बुधबार नगरपालिका सभाकक्षमा भेट गर्यो । भेटमा उनीहरुबीच स्थानीय तहको स्वीकृत दरबन्दीमा रिक्त रहेका विभिन्न सेवा, समूह, उपसमूहका पदहरुको पदपूर्ति तथा विविध विषयमा छलफल भयो ।

नगर प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय तह आफैमा स्वायत्त र स्वतन्त्र संस्था भएको हुँदा स्थानीय तहलाई अधिकार सम्पन्न बनाई कर्मचारी भर्नाको अधिकार दिनुपर्नेमा जोड दिए ।

उनले प्रदेश लोक सेवाबाट नियुक्त कर्मचारीहरु र सरुवा भई आएका कर्मचारीहरुको अवकाश पछिको निवृत्तिभरण वा उपदानलगायत अन्य सुविधा कसले व्यहोर्ने स्पष्ट हुनुपर्ने बताउँदै स्थानीय तहमा कर्मचारी प्रदेश लोक सेवाले पठाउने व्यवस्था स्थानीय स्वायत्त शासन ऐन, २०५५ भन्दा प्रतिगामी रहेको र स्थानीय तहमाथि प्रदेशको हस्तक्षेपको रुपमा रहेको स्पष्ट पारे ।

स्थानीय सरकार भन्ने तर कर्मचारी जति प्रदेश लोक सेवा आयोगले पठाउने व्यवस्थाले स्थानीय जनताको भावनाअनुसार काम हुन नसक्ने बताउँदै स्वायत्तताको पूर्ण कार्यान्वयनको लागि कर्मचारी भर्नाको सम्पूर्ण अधिकार स्थानीय तहलाई नै दिनुपर्छ, उनले भने ।

शिक्षकलाई तलब खुवाउने काम स्थानीय तहबाट हुँदै आए पनि त्यसको नियन्त्रण जिल्ला शिक्षा समन्वय इकाइमार्फत संघ सरकारले नियन्त्रण गर्न खोज्नु सिद्धान्ततः गलत भएको बताउँदै उनले शिक्षकलाई तलब खुवाउने र सरुवा, बढुवा गर्ने समेतको सम्पूर्ण अधिकार स्थानीय तहको हुनुपर्ने बताए ।

प्रमुख प्रजापतिले स्थानीय तहलाई संघ र प्रदेशको मातहतका ‘एकाइ’ जस्तो व्यवहार गर्नु संघीयताको मर्मविपरीत रहेको बताए ।
भेटमा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशका अध्यक्ष सुरेशमान श्रेष्ठले स्थानीय तहमा रिक्त दरबन्दीको विवरण पठाउन प्रदेश लोकसेवा आयोगबाट पटक पटक ताकेता भए पनि केही स्थानीय तहहरुबाट हालसम्म उक्त विवरण उपलब्ध नगराएको बताए ।

भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रदेश लोक सेवा आयोगका सदस्य शर्मिला न्यौपाने, टेकेन्द्र अधिकारी र राजुराज अर्याल, भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठ र प्रशासकीय अधिकृत दामोदर सुवालको उपस्थिति रहेको थियो ।

Published Date: 03 May 2023
ताजा
देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना: बाढी, पहिरो र दुर्घटनाबाट जोगिन उच्च सतर्कता अपनाउन आग्रह
आज आइतबारको राशिफल
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा