भोलीदेखि सुरु हुने सातौं भक्तपुर महोत्सवको तयारी सकियो

भोलीदेखि सुरु हुने सातौं भक्तपुर महोत्सवको तयारी सकियो : Icon Khabar

भक्तपुर, चैत २२ । नयाँवर्ष २०८० सालको अवसरमा हुने ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९/८०’ को तयारी सम्पन्न भएको छ ।

महोत्सवको कृषि तथा पशुपन्छी विकास मन्त्री डा. वेदु राम भुषालले उद्घाटन गर्ने तयारी रहेको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिए । औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकास समितिको सहयोगमा महोत्सव हुन लागेको हो ।

यहि चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिने महोत्सवको आयोजना हुने महोत्सवका संयोजक थापाले बताए । “हामीले उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा बृहत औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागेको हौं,” थापाले भने ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ सय रोपनी जग्गामा महोत्सव हुने जहाँ २०० भन्दा बढी स्टल रहनेछन् । यहाँ मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न्न प्रकारका लत्ताकपडाहरुका स्टलहरु हुने संयोजक थापाले बताए ।

कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिएका छन् । सो स्थानमा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानहरुको स्टल रहनेछन् । “बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौं,” औद्योगिक शान्ति नेपाल अध्यक्ष महतले भने ।

महोत्सवमा करिब ५ लाख उपभोक्ताले अवलोकन तथा सेवा लिने र करिब स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ ।

आयोजकका अनुसार महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामाग्रीका साथै दर्जनौं राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक र हाँस्य व्यङ्गय सहितका मनोरञ्जनात्मक प्रस्तुती रहनेछ । मनोरञ्जन मुलुक स्टलहरु भने भोली विहानसम्म तयार भइसक्ने अध्यक्ष महत जानकारी दिए ।

महोत्सवमा हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरुको समेत आयोजना हुनेछ । प्रवेश शुल्क रु. ५० र ७० रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको संयोजक थापाले बताए ।

बैशाख ४ गते भने विशेष सांस्कृतिक कार्यक्रम हुने सो कार्यक्रमको टिकटको मुल्य रु. २०० रहेको आयोजकले जानकारी दिएको छ । महोत्सवमा भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले यसबाट लाभ लिनेछन्, थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 April 2023
Website | + posts