अस्पताल अनुगमनको क्रममा फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली

अस्पताल अनुगमनको क्रममा  फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली : Icon Khabar

भक्तपुर, फागुन ३० । भक्तपुरका ठुला भनिएका अस्पतालमै अनियमितता देखिएको छ । अनुगमनका क्रममा अस्पतालले नै संचालन गरेका फार्मेसीले नियम बिपरित चर्को मूल्य असुली गरेका पाइएको हो ।

उपभोक्ता अधिकार दिवसको पूर्वसन्ध्यामा जिल्ला अनुगमन समितिले हाइवेमा रहेका ४ अस्पतालको अनुगमन गरेको थियो । मंगलवार सहायक सिडिओ माधव प्रसाद शर्मा घिमिरेको नेतृत्वमा जिल्ला अनुगमन समितिले ठिमीको मध्यपुर अस्पताल, गठ्ठाघरको नागरिक सामुदायिक अस्पताल र भक्तपुर इन्टरनेशल अस्पताल त्यसैगरी लोकन्थलीको समिट अस्पतालको औषधी विक्री कक्षको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भक्तपुर इन्टरनेशल अस्पताल बाहेक तीनवटै अस्पतालका फार्मेसीले बिरामीबाट चर्को मुल्य असुली गरेको पाइएको छ । अस्पतालका फार्मेसीले नियमानुसार लिन पाउने नाफाको अतिरिक्त खरिद मूल्यमा ३० देखि ११० प्रतिसत सम्म बढी मूल्य राखेका पाइएको अधिकारकर्मी एवं अनुगमन समितिका सदस्य मनोज थापाले जानकारी गराए । औषधीमा भन्दा सर्जिकल सामाग्रीमा बढी मूल्य राखिएको उनले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका प्रमुख उमेश कुमार दाहालले दिएको जानकारी अनुसार फार्मेसी संचालकले खरिद मूल्यमा सोह्र प्रतिसत भन्दा बढी नाफा राखी बिक्रि गर्न नपाइने व्यवस्था गरिएको छ । ”२० प्रतिसत सम्म नाफा लिन छुट भएपनि त्यसका अतिरिक्त ११० प्रतिसत सम्म बढी असुल गर्नु कानुन बिपरित हो ।” उनले भने ।

अस्पताल फार्मेसीहरुले लागू औषधको रुपमा प्रयोग हुन सक्ने औषधीलाई छुट्याएर राखेको पनि पाइएन भने बिना प्रेसक्रिप्सन नागरिक अस्पतालले यस्ता औषधी बिक्रीवितरण गरेको पाइएको उद्योग बाणिज्य संघका सचिव एवं समितिका सदस्य विश्वभक्त दुवालले जानकारी दिए । त्यतिमात्र होइन, समिट अस्पतालले म्याद नाघेका औषधी पनि संगै राखेको थियो भने औषधी राखेको फ्रिजमा तरकारी पनि राखेको पाइयो । औषधीमा तरकारी मिसाएर राख्नु गम्भीर लापरवाही भएको स्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत दिपक अछामीले जानकारी दिएका छन् ।

अनुगमन समितिका संयोजक एवं सहायक सिडिओ माधव प्रसाद शर्मा घिमिरेले हाइवेका अस्पतालले संचालन गरेका फार्मेसीमा बढी मुल्य राखिएका र केही प्राविधिक कमजोरी देखिएका पुष्टि गरेका छन् । उनीहरुलाई फार्मेसी संचालनको अनुमती पत्र लगायत कागजपत्र लिएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन् निर्देशन दिइएको सहायक सिडिओ शर्माले जानकारी दिए । उनीहरुलाई प्रचलित कानुन अनुसार कारवाही हुने उनको भनाइ छ ।

अनुगमनमा मध्यपुर थिमि नगरपालिकाका स्वास्थ्य शाखाका अधिकारीहरु समेत सम्मिलित रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 14 March 2023
Website | + posts