साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु

साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सुरु : Icon Khabar

काठमाडौँ, फागुन २४ ।  काठमाडौँमा आज बाट सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा काठमाडौंको द होटल सोल्टीमा आज र भोली सञ्चालन हुने कार्यक्रमको समुद्घाटन प्रतिनिधिसभाका सम्माननीय सभामुख देवराज घिमिरेले गरेका थिए ।

सभामुख घिमिरेले सहकारी गाउँगाउँमा गरिब किसानहरुको साना साना पुँजी संकलन गरेर वित्तीय उपार्जनमा लगाउने सामाजिक संस्था भएकाले यस्तो संस्थालाई बचाउनु सबैको दायित्व भएको बताए । नेपाली समाज निर्माण र समाजमा सामाजिक भावनको विकास सँगसँगै राष्ट्रिय स्तरमै बचत तथा ऋण सहकारी अभियान अगाडि बढेको उल्लेख गरे । उनले समाजमा विभिन्न रुपका सहकारीहरु सञ्चालनमा रहेको र तिनीहरुको व्यवहार, नियमनको पाटो र सरकारको भूमिकालाई बढाउन के गर्न सकिन्छ, त्यसका लागि वहश र छलफल गर्न सकिने बताए उनले भने, ‘तर पछिल्लो समय सहकारीको माध्यमबाट ठगी गर्ने प्रवृति बढ्दै गएका भन्ने गुनासाहरु सुनेको र यस्तो कार्यलाई नियन्त्रण गर्न अनुगमन गर्नुपर्ने र देखा परेका समस्या समयमै समाधान गर्नु पर्ने बताए ।

सोही अवसरमा सभामुख घिमिरेले ७ खर्ब भन्दा बढी रकम परिचालन गर्ने सहकारीलाई व्यवस्थि तगर्न छुट्टै ऐन आवश्यक भएको समेत बताए । सम्पत्ति शुद्धीकरणको हिसाबले सहकारीमा अवैध धन हुन्छ भन्दै बचतमा २५ लाखको सीमाको कुरा आएको बताउँदै घिमिरेले सो क्षेत्रमा यस्तो हुँदैन भनेर ग्यारेन्टी गर्न सके त्यो सीमा हट्न सक्ने समेत बताए ।
उनले भने ‘देशमा आर्थिक समस्यामा आइरहेको छ, सहकारी र लघुवित्तमा चरम समस्या छ । के कारणले यस्तो समस्या आइरहेको हो ? किन वित्तीय सुशासन छैन ? सरकारको ध्यान जानु जरुरी छ’ सभामुख घिमिरेले भने, ‘सरकारले आवश्यक कानुनका लागि तयारी गरोस् यसमा सहयोग गर्न म तयार छु ।’

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा वक्ताहरुले सहकारीको वित्तीय सुशासनमा केन्द्रित हुन प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई सुझाव दिएका थिए । सञ्चालकहरुले बदमासी गरे त्यसको प्रतिवाद व्यवस्थापकहरुले गर्नुपर्ने समेत वक्ताहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा बोल्ने अधिकांश सहकारीकर्मीहरुले सरकारले बचतको सीमा २५ लाख तोक्न लागेको प्रति चिन्ता व्यक्त गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष एवम् पूर्वमन्त्री केशवप्रसाद बडालले सहकारीमा प्रविधि अत्यावश्यक भएको बताए । कुनै पनि समुदाय पछि पर्न नहुने र त्यसका लागि सहकारीले सहयोग गर्नुपर्ने उनले बताए ।

‘सहकारीमा गैरकानुनी मुद्रा प्रयोग होस् भन्ने हामी पनि चाहदैँनौं, सहकारीमा कालोधन छ भन्ने भ्रम फिजाइएको छ’ उनले भने, ‘सहकारीको मूल्य, मान्यतामा नचलेका सहकारीमा समस्या आएको हो । सहकारीमा २५ लाखको सीमा कुनै पनि कारणले उचित छैन यसको कार्यान्वयन हामीलाई मान्य छैन । यो प्रावधान तत्काल हटाइयोस्’ उनले भने ।

जहासम्म सहकारीमा समस्याको विषय छ, संघ संस्थाहरु ऐन नियम, विनियम अनुसार चले समस्या नआउने बताउँदै उनले त्यसका लागि संघ संस्थाका व्यवस्थापकहरु चनाखो हुनुपर्ने बताए ।

यस्तै राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले स्वनियमनमा चलेको सहकारीमा समस्या नरहेको बताउँदै सहअध्यक्ष दवाडीले सहकारी नचलाई बैंकसँग प्रतिष्पर्धा गर्नेहरु समस्यामा फसेको बताए । नीति, नियम कार्यान्वयन गर्ने व्यवस्थापक नै भएकाले बढी जिम्मेबार हुनुपर्ने बताए ।

उनले बचतमा क्यापिङको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्दै भने, ‘समस्या बचतमा होइन व्यवस्थापनमा हो । यसो हो भने बचतमा मात्र किन ऋणमा पनि क्यापिङ गरौं ।’ सहकारीमा २५ लाखको सीमा हटाउन माग गरे ।

त्यस्तै कार्यक्रममा सहकारीमा सम्पत्ति शुद्धीकरणको समस्या छैन हुँदैन भन्ने ग्यारेन्टी भए बचतको सीमामा पुनरविचार हुन सक्ने भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताए । सोही अवसरमा सचिव रेग्मीले सहकारी ऐनलाई पनि जतिसक्दो चाढो ल्याउनुपर्ने बताए ।

सोही कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नरहेको बताए । सहकारीको नाममा गलत काम गरेकाले समस्या आएको उनको भनाइ छ ।

विभागका रजिष्ट्रार नमराज घिमिरेले सहकारीमा समस्या नै आउँदैन भन्ने आफ्नो बुझाई रहेको बताउनुभयो । सहकारी सहकारीको सिद्धान्तमा सञ्चालन हुन्छन्, सहकारीको नामबाट अरु गलत काम गर्न थालेपछि सहकारीमा समस्या आउँछ, त्यस्तै कतिपय सहकारीको रिपोर्ट मलाई विभागमा प्राप्त भएको छ, उनले भने ।

सहकारी बिग्रिने, बिगार्ने ५० प्रतिशत भन्दा बढी जिम्मेवारी प्रमुख कार्यकारी अधिकृतको हुने उनले बताए । सिइओ भ्रष्ट भए, सहकारी बदनामी हुन्छ । सञ्चालकमा राजनीति हुन्छ । कर्मचारीमा विज्ञता हुन्छ, निर्णयमा सहयोग गर्ने र कार्यान्वयन गर्ने हो’ उनले भने ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौडेले सहकारीका चालक (व्यवस्थापक) हरु सक्षम भए संस्थाहरु दुर्घटनामा नपर्ने बताए ।उनले नेपालका सहकारीलाई स्थरिकरण र स्तरिकरण गर्नुपर्ने बताए । साथै उनले नेफ्स्कून र साकोस अभियानको जगमा समृद्धी र नयाँ संकल्प यात्रा तय भएको बताउदै गोष्ठी मार्फत विश्व मञ्चमा भएका असल अभ्यासको आन्तरिकीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts