नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?

नेपालमा तीन वटा मौसम प्रणालीको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात? : Icon Khabar

काठमाडौँ, असोज १२ । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको समेत संयुक्त प्रभाव परेको छ। यसका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरैजसो भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ। हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक बदली रहनेछ। देशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति देशका हिमाली र पहाडी भूभागका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा देशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Published Date: 28 September 2026