भारी वर्षाले ६ प्रदेश प्रभावित हुने, बाढी–पहिरोको जोखिम

भारी वर्षाले ६ प्रदेश प्रभावित हुने, बाढी–पहिरोको जोखिम : Icon Khabar

काठमाडौँ, साउन २५ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली (बादल लाग्ने) रहेको छ।

मधेस प्रदेशसहित बागमती, गण्डकी र सुदूरपश्चिमका तराई भेगमा भने आंशिक बदली छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर साधारणतया बादल लागिरहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। हिमाली भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग एवं लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। तराईका अन्य क्षेत्रहरूमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

आज राति पनि देशभरको मौसम साधारणतया बदली नै रहनेछ। मुलुकका पहाडी भूभागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र र लुम्बिनी तथा सुदूरपश्चिमका पहाडी एवम् तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ। यस्तै, केही सीमित स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने अनुमान महाशाखाले गरेको छ।

भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्न सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

साथै, वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

Published Date: 10 August 2026