काठमाडौं, साउन २४ । खाना पकाउने एलपी ग्यासमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपो तथा बिक्री केन्द्रमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ।
गृह मन्त्रालय र उद्योग मन्त्रालयको समन्वयमा आइतबार बिहानैदेखि ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी र अनुगमन सुरु गरिएको हो। भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि बजारमा अचानक अभाव देखिएको र उपभोक्तालाई महँगो मूल्यमा ग्यास बिक्री भइरहेको गुनासो उद्योग मन्त्रालयमा आउन थालेपछि सरकारले अनुगमनलाई तीव्रता दिएको हो।
ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने तथा तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गतिविधि भइरहेको आशंकापछि उद्योगमन्त्री गौरी यादवले गृहमन्त्री सुदन गुरुङसँग आवश्यक अनुगमन तथा प्रहरी परिचालनका लागि आग्रह गरेकी थिइन्।
मन्त्री यादवको आग्रहपछि गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई आवश्यक निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरी ग्यासको आपूर्ति, बिक्री–वितरण तथा सम्भावित कालोबजारीबारे निगरानी सुरु गरिएको हो।
प्रहरीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने वा अन्य कुनै किसिमको कालोबजारी गरेको भेटिए तत्काल कारबाही गर्ने गरी अनुगमन गरिरहेको जनाएको छ।
गृह मन्त्रालयका अनुसार उपत्यकामा भइरहेको अनुगमनबाट प्राप्त सूचना र अवस्थाको मूल्याङ्कनपछि आवश्यक परे देशका अन्य जिल्लाका ग्यास डिपो तथा बिक्री केन्द्रमा समेत सादा पोसाकका प्रहरी परिचालन गरी निगरानी विस्तार गरिनेछ।
सरकारले ग्यासको आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गर्ने, ग्यास लुकाउने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने कार्य स्वीकार्य नहुने स्पष्ट पारेको छ। कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न बजार अनुगमनलाई थप प्रभावकारी र कडाइका साथ अघि बढाउने सरकारको तयारी छ।
Published Date: 09 August 2026