काठमाडौँ, साउन १२ । मंगलबार नेप्से परिसूचक ४.६४ अंक घटेर २६९६.६७ विन्दुमा झरेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४२ स्टकको ५५ हजार ५८० पटकको कारोबारमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख २१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको २१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम १९ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ भने बाँकी उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।
Published Date: 28 July 2026