सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण

सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण : Icon Khabar

भक्तपुर, असार १५ । भक्तपुरस्थित वि किड्स स्कूलमा आयोजित विशेष कार्यक्रममा सूर्यविनायक नगरपालिकाभित्रका १३ विद्यालयका ७५ जना शिक्षकले प्रारम्भिक बालशिक्षासम्बन्धी शिक्षक प्रशिक्षण सम्पन्न गरेका छन्।

प्रशिक्षणको सहजीकरण Early Childhood Teacher Training Program अन्तर्गत श्रीलंकाबाट आएका डा. पुष्पा अलुथ्गामगेले गरेका थिए। उनले आफ्नो अनुभव, सीप तथा व्यावसायिक ज्ञानमार्फत सहभागी शिक्षकहरूलाई प्रारम्भिक बालशिक्षाको गुणस्तर अभिवृद्धिका लागि आवश्यक नवीन शिक्षण विधि र व्यवहारिक सीपबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा वि किड्स स्कूलका प्रिन्सिपल मञ्जु दुवालले प्रशिक्षक डा. अलुथ्गामगेलाई स्वागत गरेका थिए। कार्यक्रमको संयोजन अन्सुमाली मन्टेश्वरीका प्रिन्सिपल कल्पना सुवालले गरेकी थिइन्।

प्रशिक्षणले शिक्षकहरूको पेशागत दक्षता, शिक्षण सीप तथा ज्ञान अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ। सहभागी शिक्षकहरूले प्रशिक्षणलाई अत्यन्त उपयोगी र उपलब्धिमूलक भएको प्रतिक्रिया दिँदै सिकेका ज्ञान तथा सीपलाई कक्षाकोठामा व्यवहारमा उतारेर बालबालिकाको सिकाइ अनुभवलाई अझ प्रभावकारी, सिर्जनात्मक र रमाइलो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सहभागीहरूका अनुसार प्रशिक्षणले नयाँ शिक्षण पद्धतिबारे जानकारी प्राप्त गर्नुका साथै विभिन्न विद्यालयका शिक्षकबीच अनुभव आदानप्रदान गर्ने अवसर पनि प्रदान गरेको छ। यसबाट प्रारम्भिक बालशिक्षालाई थप गुणस्तरीय बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

आयोजकका अनुसार यस्ता प्रशिक्षण कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धि, व्यावसायिक विकास तथा बालमैत्री र प्रभावकारी सिकाइ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको अन्त्यमा आमन्त्रित प्रशिक्षक डा. पुष्पा अलुथ्गामगेलाई लर्निङ्ग त्रि मन्टेश्वरीका प्रिन्सिपल गिभा अमात्यजूले मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गरेका थिए।

Published Date: 29 June 2026