असारका लागि नेपालका वाणिज्य बैंकहरूले घटाए ब्याजदर

असारका लागि नेपालका वाणिज्य बैंकहरूले घटाए ब्याजदर : Icon Khabar

काठमाडौं, जेठ ३१ । वाणिज्य बैंकहरूले असार महिनाको लागि पनि औसतमा ब्याजदर घटाएका छन । वित्तीय क्षेत्रको उच्च तरलता तथा न्यून कर्जा प्रवाहका कारण ब्याजदरमा दबाब परेको हो ।

बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्छन् । आइतबार असार महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । जेठको तुलनामा असारमा ७ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् भने १३ ले स्थिर राखेका छन । धेरै बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएसँगै औसतमा ब्याजदर घटेको छ ।

वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा जेठको तुलनामा असारमा ०.०७७५ प्रतिशत बिन्दुले घटेको हो । जेठमा व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर औसत ४.३४३ प्रतिशत रहेकोमा असारमा ४.२६५ प्रतिशतमा झरेको हो ।

यो ब्याजदर वैशाख महिनाको मूल्यवृद्धिभन्दा पनि कम हो । वैशाखको मूल्य वृद्धि ५.०४ प्रतिशत छ । कुनै पनि बैंकले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर ४.७५ प्रतिशतभन्दा बढी छैन, तर मूल्यवृद्धि ५ प्रतिशत बढी छ ।

अधिकांश बैंकले व्यक्तिगत मुद्दतीमा तोकेको अधिकतम ब्याजदर ३.९ देखि साढे ४ प्रतिशतसम्म छ । जेठको तुलनामा असारमा ब्याजदर घटाएका ७ बैंकमा कुमारी, स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एसिया, लक्ष्मी सनराइज, हिमालयन, प्राइम कमर्सियल र एनएमबी छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घट्दा बचत तथा संस्थागत मुद्दतीको ब्याज पनि घट्न जान्छ । जब निक्षेपको ब्याजदर घट्छ, त्यसले आधार दर घट्न गई कर्जाको ब्याजदर स्वतः घट्छ ।

छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर पनि लामो अवधिको हो ।

बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तथा कर्जा प्रवाह अति न्यून भएपछि ब्याजदर घटिरहेको छ । राष्ट्र बैंकले पछिल्लो समय लामो अवधिका लागि समेत तरलता खिचिरहेको छ ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि बोन्ड, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बैंकको पैसा खिच्दै आएको छ । यसरी पैसा खिच्दा केन्द्रीय बैंकले अधिकतम २.७५ प्रतिशत ब्याजदर दिदै आएको छ ।

Published Date: 14 June 2026
ताजा
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै
विदेश अध्ययनका लागि विद्यार्थीको पहिलो रोजाइ बन्दै आर्गस एजुकेशन भक्तपुर
भोलि हुने ‘कोरा जात्रा भक्तपुर २०२६’ का लागि जर्सी वितरण सुरु, ५०० भन्दा बढी सहभागी दर्ता
फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा: उपाधिका लागि स्पेन र साविक विजेता अर्जेन्टिना भिड्ने


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय